सार्मथ्य फाउण्डेसनद्धारा ताप्लेजुङका उत्कृष्ट बिद्यालय,विव्यस,शिक्षक,कर्मचारी र बिद्यार्थी पुरस्कृत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १३ । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल सार्मथ्य फाउण्डेसनले उत्कृष्ट बिद्यालय,व्यवस्थापन समिति,शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । सार्मथ्य फाउण्डेसन यसअघि ग्रामीण शिक्षा तथा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको स्थानमा रिडकै कार्यक्षेत्रमा काम गर्ने गरी आएको संस्था हो ।

सार्मथ्य फाउण्डेसनका प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित रानी आधारभूत बिद्यालयले नगद ५० हजार रुपैयाँ सहित सर्बोकृष्ट बिद्यालयको सम्मान पाएको छ । बिद्यालयगततर्फ खेजेनिम मावि खेजेनिम,भक्त आधारभूत बिद्यालय लिङखिम,सरस्वती च्यारिवुक मावि लेलेप उत्कृष्ट बिद्यालयको रुपमा नगद ३५ हजार रुपैयाँ सहित पुरस्कृत भए । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट अंक ल्याउने इखाबुस्थित सुनदेवी मावि नगद ३५ हजार रुपैयाँ सहित पुरस्कृत भएको छ । सार्मथ्य फाउण्डेसनले बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघतर्फ फक्ताङलुङ आधारभूत बिद्यालय र कञ्चनजंघा माविका व्यवस्थापन समितिका अध्यक्षद्धय क्रमशःमहेन्द्रनाथ लिम्बू र सोमबहादुर राई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत हुनुभयो । शिक्षकगत पुरस्कारतर्फ भक्त आधारभूत बिद्यालयका बाल शिक्षक बिमला मावो महेन्द्र आधारभूत बिद्यालय खेवाङ बिद्यालय खेवाङका शिक्षक हरिप्रसाद घिमिरे,भक्त आधारभूत बिद्यालय लिङखिमका देवीमाया बराल,सुनदेवी मावि इखाबुका योगेन्द्र चुँडाल,सिँवा माविमा सञ्जयकुमार राम,सरस्वती मावि तापेथोकका मुना केदेम जनही नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत हुनुभयो ।

स्रोत व्यवस्थापन शिक्षकतर्फ गणेश मावि खेवाङका दिब्सन परियार र सरस्वती च्यारिवुक मावि लेलेपका छत्रबहादुर शाही जनही नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत हुँदा बिद्यालय कार्यालय सहयोगी पुरस्कारबाट सेवालुङ मावि इखाबुका मंगलहाङ लिम्बू समेत नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत हुनुभयो । सार्मथ्य फाउण्डेसनले आफ्नो कार्यक्षेत्रका ५४ बिद्यालयका उत्कृष्ट ५४ बिद्यार्थीलाई जनही नगद २ हजार रुपैयाँको आर्थिक प्रोत्साहन अवार्ड दिएको सार्मथ्य फाउण्डेसनका शिक्षा अधिकृत अमृता थलङले जानकारी दिनुभयो । सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्र यसअघि रिड नेपालको कार्यक्षेत्र भएका फक्ताङलुङ गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका सबै वडा तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६,७ र ८ गरी यहाँका १० वटा वडामा रहेको छ । यसअघि रिड नेपालले गर्दै आएको सार्वजनिक शिक्षा सुधार अन्तरगत बालमैत्री सिकाई,सिकाई प्रर्वद्धन कार्यक्रम,सिकाई गुणस्तर सुधार,शैक्षिक पूर्वाधारको निर्माण सहितका कार्यक्रम गर्दै आइरहेको छ । सार्मथ्य फाउण्डेसनले कार्यक्षेत्रका २९ मध्ये २८ जनालाई स्रोत नेतृत्व शिक्षकलाई शैक्षिक गुणस्तर सुधारमा शिक्षकको भूमिका सम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत गरेको जनाएको छ ।

पुरस्कार तथा सम्मान बितरण कार्यक्रमका प्रमुख अतिथि तथा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)ले ताप्लेजुङका दुर्गम क्षेत्रको शैक्षिक सुधारमा रिड नेपालकै स्वरुपमा आएको सार्मथ्य फाउण्डेसनको सहयोग अतुनलिय रहेको बताउँदै आगामी दिनमा समेत विगतका झैं सिकाई सुधारमा संस्थाको योगदान रहने विश्वास लिनुभयो । रिड नेपालको कार्यक्रम स्वरुपमा सार्मथ्य फाउण्डेसनले काम गर्न थालेको केहि अवधि मात्र भएको छ । रिड नेपालले करिव १७ बर्ष यहाँका उत्तरी दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरुमा सिकाई सुधारका लागि निरन्तर काम गर्दै आएको थियो । रिड नेपालको अहिलेको भूमिका सार्मथ्य फाउण्डेसनमा रुपान्तरण भएपनि काम गर्ने शैली र कार्यक्रम रिड नेपालको झैं हुने सार्मथ्य फाउण्डेसनका प्रवन्धक पन्तले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,एक्सन फर नेपाल,फेज नेपाल,युडब्लुएस र एचपिएफका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

Similar Posts