घुन्सामा प्राथमिक हिमाल चढाई तथा हिमालय उद्धार शिक्षा सम्वन्धी तालिमको तयारी सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । ताप्लेजुङका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका युवालाई लक्षित गरी सञ्चालन हुन लागेको प्राथमिक हिमाल चढाई तथा प्राथमिक हिमालय उद्धार शिक्षा सम्वन्धी तालिमको तयारी सुरु गरिएको छ । तालिमका लागि आवश्यक पर्ने पूर्व तयारी सुरु समेत गरिएको छ ।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले स्थानीय युवाहरूलाई पर्वतीय साहसिक पर्यटन, चट्टान आरोहण, पर्वतीय उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप र दक्षता प्रदान गर्न तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिका ६–६ जना युवालाई यस्तो तालिम दिईने छ । घुन्सादेखि खम्बाचेन,लोनाक हुँदै पाङ्पेमा पुग्ने कञ्चनजङ्घा उत्तर आधार क्षेत्रको पदमार्गलाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय युवाको सीप, क्षमता र नेतृत्व विकास अपरिहार्य ठानेर उक्त तालिम आयोजना गरिएको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । पर्यटनलाई सम्भावनाको क्षेत्रको रुपमा मात्र देखाउने नभई स्थानीय युवालाई दक्ष बनाउँदै पर्यटनबाट प्राप्त अवसर र लाभमा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
फक्ताङलुङ र सिरिजङ्गा ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा पर्छन् । कञ्चनजंघा आधार शिविर क्षेत्र यही पालिकाको द्धारबाट आवात–जावत गरिन्छ । फक्ताङलुङ गाउँपालिकाले घुन्सा कञ्चनजङ्घा पर्यटनको प्रवेशद्वार भएको र यसको सम्भावनालाई स्थानीय युवाको सीप श्रम र उद्यमशीलतासँग जोडेर समृद्धिको आधार बनाउने प्रण गरेको छ । दिगो पर्यटन विकासका लागि यस्तो तालिममार्फत युवाहरुलाई हिमाली श्रम र रोजगारीमा आबद्ध गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको फक्ताङलुङले जनाएको छ । तालिम फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ स्थित घुन्सामा सञ्चालन हुनेछ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूनडिपी)को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना र फक्ताङलुङ गाउँपालिकाको समन्वय तथा आर्थिक लगानीमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघ(एनएनएमजिए)को प्राविधिक सहयोगमा तालिम सञ्चालन हुन लागेको समेत पालिकाले जानकारी दिएको छ ।