ताप्लेजुङलाई अलैंचीको सुपरजोन बनाउन पहल गर्छु:थेबे
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १३ । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले ताप्लेजुङलाई अलैंचीको सुपर जोन जिल्ला कायम गर्न आफुले पहलकदमी लिने बताउनु भएको छ ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको हाङपाङमा जारी कोशी प्रदेश स्तरीय अलैंची महोत्सवको उद्घाटन गर्दै थेबेले अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङको जोन मात्र कायम हुने अन्य जिल्ला सुपरजोनको रुपमा कार्यक्रम अघि बढ्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । ताप्लेजुङ नेपाल भरमै बढी मात्रामा अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ । नेपालमा कुल उत्पादन हुने अलैंचीको उत्पादनको करिव ४७ प्रतिशत हिस्सा ताप्लेजुङले ओगट्ने ठानिएको छ । सांसद थेबेले सरकारले अन्तराष्ट्रिय बजारसंग समन्वय गरी अलैंची उत्पादकले पाउने न्यूनतम् सर्मथन मूल्य कायम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । अलैंचीको ठूलो हिस्सा अन्तराष्ट्रिय जाने र मूल्य समेत अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने गरेका कारण अलैंचीको मूल्यमा उतारचढाव भइराख्छ ।
मूल्यको उतारचढावले किसान तथा व्यवसायीले पाउने मूल्य समेत उतारचढाव भइरहने भएकोले सर्मथन मूल्य कायम गरेमा उत्पादक तथा व्यवसायीले लागतको आधारमा मूल्य पाउने र यसले उत्पादनको मूल्य र व्यवसायिक सन्तुलन समेत कायम हुने थेबेको भनाई छ । कहिलेकाँही चलिरहेको मूल्य भन्दा ज्यादा कम भएर अन्तराष्ट्रिय बजारले मूल्य निर्धारण गर्दा यसले नेपालका अलैंची उत्पादक र व्यवसायी दुबै घाटामा जाने अवस्था रहेको बताउँदै थेबेले न्यूनतम् सर्मथन मूल्य स्थापित गर्न सरकारले अन्तराष्ट्रिय बजारमा समन्वय र सहजीकरण गरिदिनुपर्ने धारणा राख्नु भएको छ । उहाँले प्राकृतिक विपद् र रोग किरा समेतका कारणबाट किसानले आफ्नो उत्पादनमा नराम्रो क्षति व्यहोर्दै आएको बताउँदै प्रतिनिधिसभा सदस्य थेबेले यसका लागि किसानको बाली बीमा गर्ने प्रणालीलाई प्रभावकारी र अनिवार्य हुनेगरी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । बाली बीमा भएमा त्यसको क्षति भरणमा सहयोग पुग्ने र किसानको मारमा कमी हुने उहाँको भनाई रहेको छ ।
दुईदिने अलैंची महोत्सवको दोस्रो दिन शनिवार प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व कृषि मन्त्री खगेनसिं हाङगाम सहितका जनप्रतिनिधि हाङपाङमा भेला हुनु भएको छ । त्यहाँ संघ,प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा विज्ञ टोलीबिच अलैंचीको उत्पादन र उत्पादकत्व बढाउने देखि बजार व्यवस्थाापन सहितका बिषयमा छलफल कार्यक्रम हुने महोत्सव मूल आयोजक समितिका संयोजक बालचन्द्र आङवुहाङले जानकारी दिनुभयो । पहिलो दिनको कार्यक्रममा सांसद थेबेका साथ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी,नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपाल सहितका स्थानीय जनप्रतिनिधि र कार्यालयका प्रमुखहरुको उपस्थिति थियो । कोशी प्रदेश सरकार र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँ अलैंची महोत्सव सञ्चालन भएको हो ।