अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी १५ दिने सीप विकास तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा सञ्चालित अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी १५ दिने सीप विकास तालिम मंगलवार सम्पन्न भएको छ ।

रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका वडा नं १० संगको सहकार्यमा तालिम सञ्चालन गरेको हो । तालिमका सहभागीलाई सहभागिताको प्रमाण पत्र बितरण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले सिकेको सीपलाई व्यवहारिक जीवनमा उर्तान सहभागीलाई आग्रह गर्नुभयो । ओझाले डिभिजन वन कार्यालय र नगरपालिकाको आर्थिक सहयोगमा हिमाली संरक्षणले उद्यमशिलता प्रर्वद्धन केन्द्र निर्माण गरेर उद्यमशिलता तालिम प्राप्त गरेकाहरुलाई उद्यम सृजना सहयोग गर्न केन्द्र निर्माण गरेकोमा आभार प्रकट गर्नुभयो । स्थानीय कच्चा पदार्थको उपयोगबाट निर्मित सामग्रीको बजारीकरणमा आफु र नगरपालिकाले सहयोग गर्ने ओझाको बचन थियो । फुङलिङ नगरपालिकाले बजारीकरणको अभाव हुन नदिने गरी योजना तय गरेको ओझाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले उद्यमशिलता तालिम लिएका महिलाहरुलाई व्यवसायिक रुपले उत्पादन थाल्न सहभागीलाई आग्रह गर्दै कच्चा पदार्थका स्रोतहरुको दिगो संरक्षण र प्रर्वद्धनमा वडा र नगरपालिकाकोतर्फबाट सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष लिम्बूले उद्यमशिलता प्रर्वद्धन र रोजगारी सृजना गरी आयआर्जनमा टेवा पुग्नेगरी काम गर्न आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,पाथीभरा आधारभूत बिद्यालयका प्रधानाध्यापक डम्बरबहादुर थापा,मुख्य प्रशिक्षक मीना लोहनी सहितले मन्तव्य राख्नु भएको थियो ।

तालिमका सहभागीहरुकातर्फबाट बोल्दै चन्द्रकुमारी लिम्बूले अल्लोबाट ९ प्रकारका सामग्री उत्पादन गर्ने सम्वन्धी तालिम लिईएको र तालिम फलदायी भएको बताउनुभयो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार डाँफे वर्कस इन्टर प्राइजेज नेपालको प्राविधिक सहयोगमा लोहनी मुख्य प्रशिक्षक तथा रोश्ना महर्जन र सुजना शाक्य सहायक प्रशिक्षक भई कार्यक्रम तालिम सञ्चालन गरिएको हो । स्थानीय कच्चा पदार्थको उपयोग गरेर महिलाहरुको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम अघि सारिएको उहाँको भनाई थियो । तालिममा स्थानीय १६ जना सहभागी हुनु भएको थियो ।

Similar Posts