भदौ महिनामा पाथीभरामा पुगे ६ हजार १ सय बढी दर्शनार्थी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । चालु आर्थिक बर्ष २०८३।८४ को भदौ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ६ हजार १ सय बढीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार ६ हजार १ सय २३ जनाले मन्दिरको दर्शन गरेका छन् । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भदौ महिनामा पाथीभरा मन्दिरबाट १३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको छ ।
क्षेत्र विकास समितिका अनुसार २०८२ साल भदौ महिनामा पाथीभरा मन्दिरमा ४ हजार ५ सय ३ जना दर्शनार्थी मन्दिरको दर्शन गर्न आएका थिए । उक्त आवको भदौ महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको थियो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङका अनुसार अघिल्लो आवको भदौ महिना र चालु आवको भदौ महिनामा पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थालु र संकलन हुने भेटी मध्ये चालु आवमा दुबैमा बृद्धि भएको छ । क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८२।८३ को एक बर्षे अवधिमा २ लाख ५२ हजार ७८ जनाले मन्दिरको दर्शन गरेका थिए ।