|

कोरोना प्रभाव अदालतमाः आधा मात्र मुद्दाको फछ्र्यौट

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन १२ । कोरोना कहरको नकारात्मक प्रभाव अदालती काम कारबाहीमा समेत परेको छ । आर्थिक वर्ष २०७५/७६ मा झण्डै ९३ प्रतिशत मुद्दाको फस्र्यौट गरेको ताप्लेजुङ जिल्ला अदालतले आव २०७६/७७ मा भने ५१ प्रतिशत हाराहारी मात्र मुद्दा फस्र्याएको छ ।
ताप्लेजुङ जिल्ला अदालतमा श्रेष्तेदार रीतु राईका अनुसार आव २०७६/७७ मा साढे ५१ प्रतिशत हाराहारी मुद्दाको फस्र्यौट भएको छ । आव २०७५/७६ मा भने ताप्लेजुङ अदालतले ९२.३५ प्रतिशत मुद्दा फस्र्याएको थियो । श्रेष्तेदार राईका अनुसार जिम्मेवारी सरी आएका ३७ र नयाँ दर्ता भएका २६० समेत गरी ताप्लेजुङ अदालतमा २९७ थान मुद्दा रहेका थिए । ति मध्ये १५३ थान मुद्दाको मात्र फस्र्यौट भएको छ । १४४ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका छन् ।
श्रेष्तेदार राईका अनुसार अदालतले ६ महिना भित्रका १२४ थान, ६ महिना देखि एकवर्ष भित्रका २६ थान र एक वर्षदेखि १८ महिना भित्रका ३ थान मुद्दा अदालतले फस्र्यौट गरेको छ । चालू आवका लागि सबैभन्दा पूरानो भनेको १८ महिनादेखि २ वर्ष भित्रका २ र एक वर्षदेखि १८ महिना भित्रका ४ थान मुद्दा जिम्मेवारीको रुपमा रहने छन् । यस्तै ६ महिनादेखि वर्ष दिन भित्रका ४४ र ६ महिना भित्रका ९४ थान मुद्दा चालू आवका लागि फस्र्यौट जिम्मेवारीको रुपमा रहने छ ।
अघिल्लो वर्ष झैं अदालतमा सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदका थिए । जिम्मेवारी सरी आएकासहित ६७ थान सम्बन्ध बिच्छेदका मुद्दामध्ये अदालतले ४० थान फस्र्यौट गरेको छ भने २७ थान चालू आवका लागि जिम्मेवारी सरी आएको छ । संख्याका हिसाबले दोस्रोमा रहेको अंशवण्डा सम्बन्धीका ४९ थान मुद्दामध्ये अदालतले २६ थान फस्र्यौट गरेको छ भने २३ थान जिम्मेवारी सरी आएका छन् । पारिवारिक विवाद ठानिने यि मुद्दा ११६ थान रहेकोमा ६६ थान फस्र्यौट भई ५० थान जिम्मेवारी सरी आएका छन् ।
सम्पत्ति हस्तान्तरण, भोगाधिकार, जग्गा सम्बन्धी, लेनदेन, लिखत बदरसहित सम्पत्ति विवादका ५६ थान मुद्दामध्ये ३० थान फस्र्यौट भएको छ भने २६ थान फस्र्यौट हुन बाँकी छन् । दुनियाँवादी देवानीतर्फ करार तथा अन्य दायित्व शीर्षकका ४ थान मुद्दा रहेकोमा कुनैपनि फस्र्यौट हुन नसकी चालू आवका लागि जिम्मेवारी सरी आएको छ । भूमी सम्बन्धमा मोही प्रकरणको १ थान मुद्दा रहेकोमा सो मुद्दा पनि आव २०७६/७७ मा किनारा लाग्न सकेन ।
सरकारवादी मुद्दाको रुपमा रहने जबरजस्ती करणी, करणी, करणी उद्योगका गरी २० थान मुद्दा रहेकोमा ९ थानको मात्र फस्र्यौट हुन सकेको छ । ११ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन् । मुद्दाका पक्षहरुको उपस्थिति लगायतका समस्याका कारण आव २०७५/७६ मा अघिल्लो आव अनुसारको प्रगति हासिल गर्न नसके पनि अवस्था अनुसार अपेक्षाकृत सफलता भने लिन सकिएको अदालतका श्रेष्तेदार राईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts