गोला–याङ्मा यात्रालाई सहज बनाउन ढासापारमा बन्यो आश्रयस्थल,भाडावर्तन र म्याट सहितका सामग्री समेत राखिए
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ७ । एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाईदिएको छ ।
सुत्नका लागि म्याट र खाना पकाउनका लागि भाडा वर्तनसहितका सामग्री समेत राखेर गोला–याङ्माको बिचभागमा पर्ने ढासापार भन्ने स्थानमा आश्रयस्थल बनाईएको हो । यो आश्रय स्थल ओलाङचुङगोलाबाट हिंडेर एकैदिनमा याङ्मा पुग्न नसक्नेहरुले घरबासको रुपमा प्रयो गर्न सक्ने छन् । फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ शेर्पाले उक्त आश्रयस्थल प्रयोग गर्ने पदयात्री तथा बटुवाहरुले आश्रय स्थल तथा त्यहाँ रहेका सामग्रीको जतनका साथ प्रयोग गरी सुरक्षित राखिदिन आग्रह गर्नु भएको छ । वडाध्यक्ष शेर्पाले उक्त आश्रय स्थललाई दिगो रुपमा सञ्चालन गरी पदयात्री तथा बटुवाको सहजताका लागि सहयोग गर्न सम्वन्धित सबैसंग अनुरोध गर्नु भएको छ ।
ताप्लेजुङको उत्तरी क्षेत्रमा पर्ने दुर्गम बस्ति याङ्मा ओलाङचुङगोलाबाट करिव ३० किलोमिटर उत्तरमा पर्ने दुर्गम बस्ति हो । सुरुमा १७ घर परिवार रहेको याङ्मामा अहिले १०–११ घर परिवार स्थायी रुपले बसोबास गर्छन् । समुद्र सतहबाट ४ हजार २ सय मिटर उचाईमा रहेको याङ्मा अहिलेसम्म पदमार्ग बाहेक यातायात,सञ्चार र विद्युतसहितका न्यूनतम् सेवाबाट बाहिर रहेको पर्यटकीय बस्ति हो । प्राकृतिक,साँस्कृतिक र ऐतिहाँसिक हिसावले महत्वपूर्ण रहेको याङ्मा साविक ओलाङचुङगोला गाविसको वडा नं ९ मा पर्दछ । पछिल्ला दिनहरुमा धेरैको रोजाईको केन्द्रमा पर्दै आइरहेको मनोरम प्राकृतिक छटाहरुले भरिएको याङ्मा क्षेत्र आउ–जाउलाई सहज बनाउन ढासापार क्षेत्रमा आश्रयस्थल निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो