खेवाङमा कात्तिक १६ देखि खेलकुद महोत्सव हुने,फुटबलका साथ पुरुष र महिला भलिबल तथा हाफ म्याराथन हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा हाफ म्याराथन,फुटबल र भलिबलसहितका कार्यक्रमका साथ कात्तिक १६ गतेदेखि खेवाङ खेलकुद महोत्सव हुने भएको छ ।

खेवाङ स्पोर्टिङ क्लवको आयोजनामा कात्तिक १६ देखि २१ गते देखि महोत्सव हुन लागेको हो । आयोजक खेवाङ स्पोर्टिङ क्लवका सचिव दीप्सन परियारका अनुसार‘सिरिजङ्गाको गौरव,कञ्चनजंघा’नाम दिएर महोत्सव हुन लागेको छ । आयोजक क्लवका अध्यक्ष विनम मावोका अनुसार यसपटक भलिबल र हाफ म्याराथनसहितका विभिन्न प्रतियोगिता तथा साँस्कृतिक र सांगितिक कार्यक्रमका साथ खेलकुद महोत्सव सञ्चालन हुन लागेको हो ।

यसबर्ष खुल्ला पुरुष फुटबल,वडा स्तरीय पुरुष तथा महिला भलिबल र हाफ म्याराथन प्रतियोगिता हुने छ । खुल्ला पुरुष फुटबल प्रतियोगितामा ८ टीम सहभागी हुने समेत क्लवका अध्यक्ष मावोले जानकारी दिनुभयो । आयोजकले असोज पहिलो साता सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी फुटबल,भलिबल तथा हाफ म्याराथनका बिजेताले पाउने पुरस्कार राशी घोषणा गर्ने भएको छ । यसबर्ष फुटबल प्रतियोगिताको पुरस्कार राशीमा साविक भन्दा केहि बृद्धि गर्ने योजनामा आयोजक क्लव रहेको छ ।

२१ किलोमिटर दूरीमा हुने हाफ म्याराथन प्रतियोगिता खेवाङ स्पोर्टिङ क्लवको मैदानबाट एकचना भञ्ज्याङ–लुङथुङ डाँडा–तम्फु–तावाटार–मानेडाँडा–जुगेडाँडा हुँदै पुनः खेवाङ स्पोर्टिङ क्लवको खेल मैदानमा आएर पूरा हुने भएको छ । म्याराथन प्रतियोगिताका सहभागीले साविक खेवाङ गाउँ विकास समितिको साविक वडा नं १ बाहेक बाँकी साविकका सबै वडालाई परिक्रमा गर्नेगरि दूरी निर्धारण गरिएको छ । सांस्कृतिक कार्यक्रम तर्फ धान नाच (याःलाङ),च्याब्रुङ नाच (केःलाङ) सँगै खेवाङको मौलिक नृत्यको रुपमा चिनिएको सरदेवी नाच समेत प्रस्तुत गर्ने आयोजकको तयारी रहेको छ ।

Similar Posts