|

सिरिजङ्गामा जेठ १ बाट गोलिया ढुवानी बन्द

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो जेठ १ गते पालिका क्षेत्रका सडकहरुबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ ।

गाउँपालिकाका अधिकृत(सातौं) आशिष सिग्देलका अनुसार २०८३ बैशाख १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार जेठ १ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि गोलिया ढुवानी बन्द गरिने छ । पालिकाको मामाङ्खे–याङपाङ–तेल्लोक–आम्बेगुदिन–खाम्दिने सडक खण्ड तथा तेल्लोक–सिञ्चेबुङ भञ्ज्याङबाट गोलिया निकासी तथा ढुवानी बन्द गरिने सिग्देलले जानकारी दिनुभयो । गोलिया ढुवानी तथा निकासीका कारण सडक खाल्डो पर्ने र बिग्रने समस्या बारबार उत्पन्न भएको र सोहि कारण यात्रुवाहक सहितका अन्य सवारी साधनलाई आवतजावतमा मार्का परेकोले जेठ १ गते गोलिया ढुपानी तथा निकासी बन्द गरिने पालिकाले जनाएको छ ।

पालिकाले बैशाख मसान्तसम्ममा बाँकी रहेका गोलिया ढुवानी तथा निकासी गरिसक्न गोलिया व्यवसायीहरुलाई समयावधि समेत दिएको छ । यसअघि गत चैत १३ गते देखि चार दिनका लागि पालिकाले पालिका क्षेत्रका मुख्य सडकमा ट्रयाक्टर वा ट्रकमार्फत गोलियाको ढुवानी बन्द गरेको थियो । पालिकाले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा निकायसंग आवश्यक समन्वय तथा निर्देशन गरिदिन तथा सशस्त्र प्रहरीको सिनाम वेस क्याम्प र पालिकाका ८ वटै वडाका अध्यक्षलाई निर्णय कार्यान्वयनमा सहयोग गरिदिन बोधार्थ दिएको छ भने डिभिजन वन कार्यालय ताप्लेजुङलाई निर्णयको जानकारी गराएको जनाएको छ ।

Similar Posts