ताप्लेजुङ खाद्यले चालु बर्षको तीनमहिनामै बेच्यो १ करोड २ लाख बढीको खाद्य सामग्री
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३१ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ ।
शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार चालु आवको साउन,भदौ र असोज महिनामा कुल १ करोड २ लाख ४ हजार ७ सय ५० रुपैयाँ बराबरको खाद्य सामग्री बिक्री भएको छ । आर्थिक बर्ष २०८२।८३ को एकबर्षे अवधिमा यहाँस्थित खाद्यले कुल १ करोड ६ लाख रुपैयाँ हाराहारीको खाद्य सामग्री बिक्री गरेको थियो । यसअघि खाद्यबाट चामल मात्र बिक्री हुँदै आएकोमा अहिले भने चामलसहित चिनी र मसुरो दालको समेत बिक्री सुरु भएको छ ।
कार्यालय प्रमुख तिम्सिनाका अनुसार खाद्यले चालु आवको यो अवधिमा ५० लाख ६५ हजार २ सय ५० रुपैयाँ बराबरको ५ सय ७२.५ क्विन्टल जिरा मसिनो र २० लाख ९० हजार ६ सय २५ रुपैयाँ बराबरको ३ सय ४० क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको छ । २७ लाख ३५ हजार ३ सय ७० रुपैयाँ बराबरको २ सय ४८.५ क्विन्टल चिनी र ३ लाख १३ हजार ५ सय रुपैयाँ बराबरको २१.५ क्विन्टल मसुरो दाल समेत चालु आवको यो विधिमा बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । खाद्यले दशैं लगत्तै खाने तेलको समेत बिक्री गर्नेगरी प्रकृया अघि बढाएको समेत तिम्सिनाले जानकारी दिनुभयो ।
तिम्सिना यहाँस्थित खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयको कार्यालय प्रमुख भएर आएपछि उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउन कार्ययोजनासहित प्रस्तुत हुनु भएको थियो । सुरुमा चामल मात्र बिक्री हुँदै आएको खाद्यको यहाँस्थित कार्यालयले स्थापनाको ४८ बर्षपछि चामलसंगै चिनी र दालको बिक्री सुरु गरेको छ भने केहिदिन भित्रमै खानेतेल समेतको बिक्री सुरु गर्ने भएको छ ।