शनिवार एकैदिन पाथीभराको दर्शनका लागि पुगे ४ हजार ३ सय बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ७ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिवार एकैदिन ४ हजार ३ सय बढी दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिवार ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका हुन् । चालु आर्थिक बर्ष सुरु भएयता एकैदिन यतिधेरै दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेको यो पहिलो अभिलेख हो ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीका अनुसार शुक्रवार १ हजार ७ सय ७९ जना पाथीभरा मन्दिरको दर्शनका लागि पुगेका थिए । मलमासको समय भएकोले यसबर्षको नवरात्रमा पाथीभरा मन्दिरमा अपेक्षाकृत रुपमा दर्शनार्थी आएका थिएनन् । अहिले भने दर्शनार्थीको संख्या ह्वात्तै बढेको छ ।

पाथीभरा क्षेत्र विकास समितिले चालु आवको साउन,भदौ र असोज गरी तीन महिनामा २० हजार ५ सय २२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेको बताएको छ ।

 

Similar Posts