ताप्लेजुङमा गरियो फूलपाति बढाँई,जिल्ला प्रहरी कार्यालयको दशैंघरबाट सेना र सशस्त्रमा लगियो फूलपाति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३१ । ताप्लेजुङमा शनिवार फूलपाती बढाँई गरिएको छ ।

नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सुरक्षाकर्मी डोली सहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजाअर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल,दुर्गादल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमशेर जवरा,जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँई,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीसहित फूलपाती बढाँईमा सहभागी रहनु भएको छ ।

बडादसैँअन्तर्गत शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली सम्वन्धित कार्यालयतर्फ पु-याईएको छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर फूलपाति बढाइँ भएपछि फूलपाती स्वरूप केरा,दारिम,धान,हलेदो,माने,कर्चुर,बेल,अशोक र जयन्तीगरि नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउने चलन रहेको छ ।

नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । सातौँ दिन असोज ३१ गते शनिवार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी),श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

Similar Posts