मैवाखोला बन्यो कोरोना संक्रमणमुक्त पालिका,सक्रिय संक्रमित २ सय भन्दा कममा झरेपछि निशेधाज्ञा नथप्ने ताप्लेजुङ प्रशासनको तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । मैवाखोला गाउँपालिका कोरोना संक्रमणबिहिन पालिका बनेसंगै ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या १ स ८६ मा झरेको छ । सक्रिय संक्रमितको संख्या यो भन्दा नबढे प्रशासन कार्यालयले अब निशेधाज्ञा नथप्ने तयारी गरिरहेको छ । । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सक्रिय संक्रमितको संख्या २ सय वा सो भन्दा कम भएको अवस्थामा निशेधाज्ञा हटाउने तयारी भइरहेको जानकारी दिनुभयो । प्रशासन कार्यालयले १५ भदौको मध्यराती सम्मका लागि निशेधाज्ञा थप गरेको छ ।‘२ सय वा सो भन्दा कम भएमा निशेधाज्ञा हटाउँछौं’प्रजिअ पाण्डेले भन्नुभयो । यहाँका ९ वटै स्थानीय तह तथा स्वास्थ्य कार्यालयसंगको परामर्शमा जिल्ला प्रशासन कार्यालयले बुधवार मध्यान्ह प्रकाशित गरेको बिबरण अनुसार अहिले ताप्लेजुङमा ८.५ प्रतिशत मात्र सक्रिय संक्रमित रहेका छन् । प्रशासन कार्यालयले १६ जनाको मृत्यु भएको भनेको छ । यहिँका नागरिक तर अन्य मृत्यु भएका समेतको संख्या जोड्दा कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङका २२ जना नागरिकले ज्यान गुमाएका छन् । प्रशासनले भने जिल्ला भित्रै मृत्यु भएकाको संख्या मात्र अद्यावधिक गर्ने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार संक्रमितमध्ये ५ जना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचार गराइरहेका छन् । ५ जनाकै अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । ४ जनालाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको र १ सय ७७ जना होम आइसोलेसनमै रहेर स्वास्थ्यलाभ गरिरहेको प्रशासन कार्यालयले जनाएको छ ।
कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा ७ हजार १ सय ४५ जनाको एन्टीजेन र २ हजार २ सय ८८ जनाको पीसीआर गरी कूल ९ हजार ४ सय ३३ जनाको परीक्षण गरिएको छ ।
मैवाखोला गाउँपालिका संक्रमण शुन्य पालिका
ताप्लेजुङको मैवाखोला गाउँपालिका संक्रमण शुन्य पालिका बनेको छ । ताप्लेजुङ जिल्ला अस्पतालमार्फत परीक्षण गरिएका र पाथीभरा याङ्वरक गाउँपालिकामा संक्रमितहरु निको भएपछि बुधवार सक्रिय संक्रमितको संख्या ह्वात्तै घटेको हो । प्रशासन कार्यालयका अनुसार पाथीभरा याङ्वरकमा ७८ जना संक्रमित रहेका छन् । ताप्लेजुङ जिल्ला अस्पतालमार्फत परीक्षण भएका ६७,फुङ्लिङ नगरपालिका आफैंले परीक्षण गरेका ४ र सानिमा हाइड्रोपावरमा रहेका १ सहित गरी फुङ्लिङ नगरपालिका भित्र ७२ जना सक्रिय संक्रमित देखिएका छन् । यस्तै आठराइ त्रिबेणीमा ४ जना,मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा ६–६ जना,फक्ताङ्लुङ गाउँपालिकामा १ जना,सिदिङ्वा गाउँपालिकामा १३ र सिरिजंगा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।