नागरिक आवास सुधार कार्यक्रम सञ्चालन गर्दै पाथीभरा याङवरक,लाभग्राहीसंग मागियो आबेदन

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नागरिक आवास सुधार कार्यक्रममा सहभागी हुन चाहने लाभग्राहीलाई असोज १६ सम्ममा आबेदन दिन आवह्वान गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोख्रेलका अनुसार पालिका भित्र रहेका परिवारको फुस(खर)को छानो हटाई जस्तापाता(टिनको छानो)लगाउने कार्यक्रमका लागि आबेदन माग गरिएको हो । पालिका भित्रका योग्यता पुगेका तथा लक्षित लाभग्राहीले आबेदन दिन सक्ने पालिकाले जनाएको छ । कार्यक्रम लागत साझेदारीमा सञ्चालन हुन लागेको समेत पालिकाले जानकारी दिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको स्थायी बासिन्दा,हाल बसोबास गरिरहेको घर कच्ची(फुस,खरको छानो)भएको र परिवारको आर्थिक अवस्था अतिविपन्न भएको हुनुपर्ने बताएको छ ।

पालिकाले दलित,सीमान्तकृत वा एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई लाभग्राही सूचीमा बिशेष प्राथमिकता दिने बताएको छ भने यसभन्दा अगाडि फुसको छानो हटाउने कार्यक्रमबाट लाभान्वित भएका व्यक्ति फेरि लाभ लिने सूचीमा नपर्ने पालिकाले प्रष्ट पारेको छ । पालिकाले रितपूर्वक भरिएको आबेदन,घरमूलीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,घर रहेको जग्गाको जग्गाधनी प्रमाणपूर्जा(लालपूर्जा) वा स्वामित्व खुल्ने वडाको सिफारिस,हाल बसोबास गरिरहेको घरको फुसको छानो प्रष्ट देखिने एकप्रति फोटो र परिवारका सदस्यको विवरणसहित आबेदन दिन सम्वन्धितलाई आग्रह गरेको छ ।

Similar Posts