जग्गादाता,उत्कृष्ट प्रहरी,अमर प्रहरी र सहयोगी व्यत्तित्वलाई सम्मान गर्दै ताप्लेजुङमा मनाइयो ७१ औं प्रहरी दिवस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । उत्कृष्ट प्रहरी,जग्गादाता,सहयोगी तथा अमर प्रहरी परिवारलाई पुस्कृत र शुभकामना आदान–प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७१ औं प्रहरी दिवस मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रहरी संगठनको गरिमा कायम राख्दै संगठनको शीर उँचो बनाउने कार्यमा निरन्तर तल्लिन रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रजिअ दाहालले प्रहरीले कर्मचारीले कर्तव्यप्रति परायण,संगठनको नीति निर्देशनको उचित पालना,इमान्दार र कर्तव्यनिष्ठ भई आम नागरिकको जीउधनको सुरक्षामा बिशेष ध्यान दिनुपर्ने समेत बताउनुभयो । दाहालले प्रहरी संगठनका हरेक सदस्यले देश र जनताको सुरक्षामा तल्लिन रहनुपर्ने गहन जिम्मेवारी रहेको बताउँदै उक्त जिम्मेवारीका अघि पारिवारिक खुसी प्रहरी कर्मचारीका लागि गौण हुने भन्दै कर्तव्यनिष्ठ र संगठनप्रति सर्मपित प्रहरी कर्मचारीको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्धारा जारी शुभकामना सन्देश बचान गरी सुनाईएको थियो । अमर प्रहरीको स्मारकमा पुष्पगुच्छा अर्पण गरी सुरु भएको कार्यक्रममा कर्तव्य पालनाको शिलशिलामा ज्यान गुमाउने प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा कर्तव्यनिष्ठ प्रहरी कर्मचारी,प्रहरी परिसर निर्माणका लागि जग्गा दान गर्ने दानवीर,समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने व्यत्तित्व र अमर प्रहरीका परिवारलाई सम्मान समेत गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले जानकारी दिनुभयो । प्रहरी दिवसकै अवसरमा बिहीबार फुङलिङ क्षेत्रमा रहेका मठमन्दिर,सार्वजनिक स्थल तथा पार्कको सफाई गरिएको थियो भने बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

Similar Posts