ताप्लेजुङमा १३ मध्ये १० उम्मेदवारले बुझाए खर्च विवरण,सार्वजनिक गरेको प्रमाण भने एकजनाको मात्रै !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ८ । प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेका १३ उम्मेदवारमध्ये१० उम्मेदवारले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका थिए । १३ उम्मेदवारमध्ये १० जना उम्मेदवारले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको श्रेष्ठले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार चैत २३ गतेसम्म चुनावी खर्च विवरण बुझाउने तथा सार्वजनिक गर्ने समयावधि रहेको छ । दुलालका अनुसार जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ,नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा एमालेका क्षितिज थेबे,नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले चुनावी खर्च विवरण बुझाउनु भएको छ ।

राश्वपाका श्रेष्ठले ११ लाख ७६ हजार ५७५ रुपैयाँ,काँग्रेसका तुम्याहाङले २४ लाख ९३ हजार रुपैयाँ,एमालेका थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ र नेकपाका बुढाक्षेत्रीले २३ लाख ४९ हजार ९२८ रुपैयाँ खर्च भएको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा एमालेका थेबे विजयी हुनु भएको छ । कार्यालयका अनुसार श्रम संस्कृति पार्टीका सन्तोष राईले ३ लाख १९ हजार ५४५ रुपैयाँ,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेलले ३ लाख ५० हजार ५ सय रुपैयाँ,जनता समाजवादी पार्टी नेपालका सूर्य तमूले १ लाख ५० हजार रुपैयाँ,उज्यालो नेपालका कीर्तिमान मादेनका प्रतिनिधि वीरबहादुर लिम्बूले ४ लाख १६ हजार रुपैयाँ,मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले ६५ हजार १ सय रुपैयाँ र जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बूले ६७ हजार रुपैयाँ खर्च भएको विवरण पेश गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ लिम्बू र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बूले मात्र चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विवरण सार्वजनिक समेत गर्नुपर्ने
जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवारले चुनावी खर्च विवरण सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएर मात्र पुग्दैन,त्यो विवरण सार्वजनिक समेत गर्नुपर्ने हुन्छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुलालका अनुसार निर्वाचन आयोगले फागुन २८ गते प्रेषित गरेको पत्र अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक समेत गर्नुपर्ने हुन्छ । आयोगले पठाएको पत्र अनुसार सम्वन्धित उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण आफ्नो जिल्लामा रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पार्टी,सम्वन्धिा पालिका वा वडा कार्यालयको सूचना पार्टीमा टाँस गरेर खर्च विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तै राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेभसाइटमार्फत,आम सञ्चार माध्यममार्फत र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । यसरी सार्वजनिक भएको विवरणको प्रमाण सम्वन्धित उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि वा राजनीतिक दलले सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा दिनुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाउने तथा सार्वजनिक नगर्ने एवम् निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसरी सार्वजनिक गरेको विवरणको प्रमाण सहित लिखित जानकारी आयोग तथा सम्वन्धित निर्वाचन कार्यालयमा नदिने राजनीतिक दल तथा उम्मेदवारको हकमा निर्वाचन(कसुर तथा सजाय)ऐन २०७३ को दफा ३१ बमोजिम कारवाही हुने भनेको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार खर्च विवरण पेश गरेका १० राजनीतिक दलका १० उम्मेदवारमध्ये जनता समाजवादी पार्टी नेपालका सूर्य तमूले मात्र निर्वाचन खर्च विवरण सार्वजनिक भएको प्रमाण सहितको लिखित जानकारी जिल्ला निर्वाचन कार्यालयलाई गराउनु भएको छ । कार्यालयका अनुसार तमूले सामाजिक सञ्जालमा खर्च विवरण सार्वजनिक गर्दै त्यसको स्क्रिन सट सहितको लिखित विवरण जिल्ला निर्वाचन कार्यालयलाई दिनु भएको छ ।

Similar Posts