निजी सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्न नहुने निर्णय अवज्ञा गर्न प्रदेश र स्थानीय सरकारलाई महासंघको अपिल
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ११ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले निजी सञ्चार माध्यममा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न नहुने संघीय सरकारको निर्णयको अवज्ञा गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङको १२ औं बार्षिक साधारणका प्रमुख अतिथि समेत रहनु भएका दाहालले निजी सञ्चार माध्यममा सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा रोक लगाएर संघीय सरकार लोकतन्त्र कमजोर बनाएर निरंकुश शासनतर्फ उन्मुख भएको आरोप समेत लगाउनुभयो ।‘हामीले कस्तो सरकार ल्यायौं,सदनमा सरकार जवाफ दिनबाट डराउँछ,सञ्चार माध्यम बन्द गराउने अभियानतिर लागेर लोकतन्त्र कमजोर बनाउनतर्फ उन्मुख हुन्छ’दाहाल सरकारीप्रति कडा देखिनुभयो । भन्नुभयो‘अहिले हाम्रा जिल्ला शाखा तथा प्रदेशका साधारणसभाहरु सरकारी निर्णय बिरुद्ध आन्दोलनका रुपमा सम्पन्न हुन थालेका छन्’ ।
दाहालले पत्रकारिताका पृष्ठभूमिका पार्टी सभापति तथा करिव एक दर्जन सांसद पत्रकारिता क्षेत्रमा लामो समय व्यतित गरेको व्यक्ति सम्मिलित सत्तारुढ दल सञ्चार माध्यमप्रति असहिष्णु देखिनुले आफु आश्चार्यमा परेको बताउनुभयो । पत्रकारहरुका विभागीय मन्त्री मानिने संघीय सरकारका सञ्चारमन्त्रीसंग आफुहरुले पटक–पटक छलफल गर्दा पनि चैत १८ गते निर्णय सच्याउन सरकार तयार नरहेको भन्दै महासचिव दाहालले पत्रकार महासंघ अब सशक्त प्रकृतिका आन्दोलनको घोषणको तयारीमा रहेको सुनाउनुभयो । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने सरकारी निर्णयको अवज्ञा गरेर आफुहरुको माग र आन्दोलनमा साथ दिन दाहालले प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरुसंग आग्रह गर्नु भएको छ । साधारणसभामा उपस्थित यहाँका तीन स्थानीय तहका प्रमुखले आफुहरुले स्थानीय निजी सञ्चार माध्यमलाई दिदैं आएको विज्ञापन तथा सन्देशलाई नियमित गर्ने प्रतिबद्धता जनाएपछि दाहालले ७ वटै प्रदेश सरकार र देशभरका स्थानीय तहले यस्तै निर्णय गरेर निजी सञ्चार माध्यम र तिनमा आश्रित श्रमजीवि पत्रकारको संरक्षणमा लाग्न आवह्वान समेत गर्नुभयो ।
पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले संघीय सरकार निजी तथा सहकारीमार्फत सञ्चालित सञ्चार माध्यम बन्द गराएर सरकारी सञ्चार माध्यमलाई मात्र पृष्ठपोषण गर्न चाहने गलत हर्कतमा उत्रिएको आरोप लगाउनुभयो । देशभर रहेका सञ्चार माध्यमको प्रर्वद्धन गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छ होला भन्ने नागरिक अपेक्षामा सरकारले ठेस लगाएको खड्काको आरोप थियो । उहाँले पत्रकार महासंघको प्रदेश समितिद्धारा प्रदेशभरीका पत्रकारका लागि दिइने सुविधालाई न्यायोचित र समानुपाति तथा समावेशी हिसावले बितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वाले स्थानीय सञ्चार संस्था तथा सञ्चार संस्थाको संरक्षण र सवलीकरणका लागि स्थानीय सरकारले साथ र सहयोग दिनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । पत्रकार सम्मान सहितका कार्यक्रम लागु गरेर स्थानीय तहले पत्रकारको क्षमताको सम्मानका लागि गरेको प्रयत्नप्रति उहाँले स्थानीय तहलाई आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले आफ्नो सेवा निवृत जीवन पत्रकारिता क्षेत्रप्रति सर्मपित गर्ने आफ्नो योजना रहेको बताउनुभयो । पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङको १२ औं साधारणसभाका प्रदेश प्रतिनिधि सुदीप कोईरालाले सरकार सञ्चार माध्यमको प्रर्वद्धन गर्नुपर्ने दायित्वबाट पन्छिइरहेको आरोप लगाउनुभयो । साधारणसभा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,इलामका अध्यक्ष भीम चापागाँइ,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने एकात्मक निर्णय लादेर सरकार लोकतन्त्रप्रति अनुदार बनिरहेको दावी गर्नु भएको थियो । साधारणसभाले सचिव कृष्ण फुरुम्बो लिम्बू तथा कोषाध्यक्ष मदन गौतमद्धारा प्रस्तुत क्रमशःसांगठनिक तथा आर्थिक प्रतिबेदनलाई पारित गरेको छ । साधारणभाले घोषणापत्र जारी गर्ने निर्णय गरेको महासंघका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।