स्थानीय विज्ञापनको पहिलो अधिकार स्थानीय सञ्चार माध्यमनै हुने ताप्लेजुङका स्थानीय तहका प्रमुखहरुको प्रतिबद्धता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । ताप्लेजुङका स्थानीय तहहरुले स्थानीय विज्ञापनको अधिकारमाथि स्थानीय सञ्चार माध्यमको पहिलो अधिकार हुने बताउनु भएको छ । उहाँहरुले आफुहरुले विगतको झैं स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी सन्देश तथा सूचना दिइरहने प्रतिबद्धता समेत जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङको सोमवार सम्पन्न १२ औं साधारणसभामा सहभागी स्थानीय तहका प्रमुखहरुले संघीय सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्न नपाउने तथा सरकारी सञ्चार माध्यममै प्रकाशन तथा प्रसारण गर्न अनिवार्य गर्नेगरी जारी गरेको परिपत्रले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा रहेको पुष्टी भएको दावी गर्नुभयो । उहाँहरुले स्थानीय सञ्चार माध्यमको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेकोमा जोड दिनुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेनले स्थानीय सञ्चार माध्यमलाई सूचना तथा सन्देश प्रवाहका लागि विगतमा दिदैं आएको सुविधा निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । पत्रकारहरुमा दलिय प्रभाव नभई स्वतन्त्र पत्रकारिताको आभाष गराउनुपर्ने दायित्व रहेको मादेनको भनाई थियो । उहाँले खोजी पत्रकारितामा ध्यान दिन सञ्चारकर्मीको ध्यानाकर्षण समेत गर्नुभयो ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले संघीय सरकार संघीयताको मर्म र भावना विपरित चलेको दावी गर्नुभयोे । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रततामा अंकुश लगाउँदा लोकतन्त्र समेत कमजोर हुने बताउँदै आफुहरुले विगत देखि नै स्थानीय सञ्चार माध्यमको संस्थागत विकासका लागि गर्दै आएको सहयोग निरन्तर हुने जानकारी दिनुभयो । संघीयताको मर्मलाई एक संघीय मन्त्री र एक सचिवको तोक आदेशको भरमा मार्न खोज्नु गलत दुस्साहस हुने वनेमको भनाई थियो । बित्तीय अधिकार,प्रशासनिक अधिकार र राजनीतिक अधिकारलाई स्थानीय तहसम्म हस्तान्तरण नगरी संघीयता बलियो नभई कमजोर हुने वनेमले बताउनुभयो ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले तीनै तहका सरकार स्वतन्त्र रहेको बताउँदै संविधानको दिएको अधिकार र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधानका आधारमा ऐन,नियम,कार्यविधि र निर्देशिका जारी गरी सरकार सञ्चालनमा स्थानीय सरकारलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।‘हामी स्थानीय सञ्चार माध्यम बचाउने र जोगाउने पक्षमा छौं,स्थानीय सञ्चार माध्यमलाई दिइदैं आएको सुविधा कटौति हुँदैन,निरन्तर हुन्छ’आफ्ना पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङलाई सम्बोधन गर्दै पोमूले भन्नुभयो । स्थानीय सरकारको बजेट पालिका उपप्रमुख वा उपाध्यक्षले सभा समक्ष प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

पोमूले बेरुजुलाई सोझै भ्रष्टाचारको रुपमा बुझ्ने गलत भाष्य समाजमा स्थापित भइरहेको भन्दै बेरुजु भनेको रुजु हुन बाँकी रहेको रकमको रुपमा समाजलाई बुझाइदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङले साधारणसभाको अवसरमा यहाँका ९ वटै स्थानीय तह तथा संस्थाको विकासका लागि सहयोग गर्ने विभिन्न सामाजिक संस्थालाई कदरपत्र समेत प्रदान गरेको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।

Similar Posts