ताप्लेजुङको तेल्लोकमा पावर हाउस संगै पुरिएका २ जनाकै शव फेला
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २२ । गएरातिबाट परेको अबिरल बर्षाका कारण झरेको पहिरोले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकमा रहेको नागदेवा जलबिद्युत आयोजनाको पावरहाउस संगै पुरिएका त्यहाँ काम गर्ने २ जना कर्मचारीको शव फेला परेको छ । आयोजनाको पावरहाउस माथिबाट झरेको पहिरोले पुर्दा पावरहाउस संगै पुरिएका ३० बर्षिय राजु लिम्बू र ५५ बर्षियबिष्णुदास थेबेको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतक दुबै तेल्लोकका स्थायी बासिन्दा रहनु भएको थियो । घटना भएको थाह पाए लगत्तै पहिरो स्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको टोली र स्थानीय बासिन्दाले उद्धारको प्रयास गरेको थियो । यहिँ क्रममा बेपत्ता २ जनाकै शव भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । दुबै जनाको शव चेप्टिएर रहेको अवस्थामा एकैठाउँ फेला परेको प्रहरीले बताएको छ ।