नवराज पराजुलीको ‘कविता कन्सर्ट’असोज २५ मा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । युवा पुस्ताको रोजाईका कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा असोज २५ गते शनिवार ताप्लेजुङमा‘कविता कन्सर्ट’हुने भएको छ ।

वाल मन्दिर आधारभूत बिद्यालय अन्तरगत रहेको अपाङ्ग वाल आवास गृहमा रहेका बालबालिका तथा नेपाल नेत्रहिन संघमा आवद्ध व्यत्तित्वहरुको सहयोगका लागि ‘कविता कन्सर्ट’आयोजना गरिएको यसको संयोजन गरिरहेका सागर मादेनले जानकारी दिनुभयो । मादेन लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार ‘शब्दले हृ्रदय जोड्ने’असल मनशायका साथ होटल जन्नु ईनको सभाहलमा कविता कन्सर्ट हुने छ । जनही २ सय रुपैयाँ बराबर टिकट दर कायम गरिएको मादेनले जानकारी दिनुभयो ।

यसअघि असोज ६ गतेका लागि तय गरिएको उक्त कार्यक्रम देशको पछिल्लो अवस्था संगै स्थगित गरी असोज २५ गतेका लागि निर्धारण भएको आयोजकले जानकारी दिएका छन् । साहित्यकार पराजुली कविता लेखन र बाचन शैलीका कारण प्रख्यात छन् । ‘सगरमाथाको गहिराई’नामको पराजुलीको पुस्तक पद्मश्री पुरस्कारबाट पुरस्कृत भएको छ । पराजुलीका अधिकाँस कविता निजी जीवनमा आधारित भएर कोरिएको भेटिन्छ ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर पराजुली युवा पुस्ता माझ पनि उत्तिकै रोजाईको केन्द्रमा हुनुहुन्छ । कविताका बारेमा कम मात्र चासो राख्नेहरुलाई पनि पराजुलीको कविता लेखन र बाचन शैलीले मोहित बनाउने गरेको पाइन्छ । ताप्लेजुङ आउन लाग्नु भएका उहाँले आयोजकले भनेजस्तै परोपकारी काममा सहयोग गर्ने उद्देश्य सहित आफुले असोज २५ गते शनिवारको समय ताप्लेजुङका लागि सर्मपण गरेको बताउनुभयो ।

Similar Posts