सवारीमार्फत तीनदिनमै टिपताला पुगेर फर्कियो व्यवसायीको टोली,सुख्खा बन्दरगाह निर्माण गर्न वडाध्यक्ष शेर्पाको माग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३ । ताप्लेजुङका व्यवसायीहरुको एउटा टोली फुङलिङबाट सवारीमै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानाका टिपताला पुगेर तीनदिनमै फुङलिङ फर्किएको छ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोली ताप्लेजुङ सदरमुकाम फुङलिङबाटै सवारीमार्फत टिपताला पुगेर फर्किएको हो । थापाका अनुसार अहिले टिपातालानाका सम्म चिराईतो बोकेका ट्राक्टरहरु समेत जाने गरेका छन् । ओलाङचुङगोलाबाट टिपातालातर्फको भागमा पानी जमेर ठाउँ–ठाउँमा सवारी आवत–जावतमा समस्या हुने बाहेक अरु समस्या आफुहरुले नखेपेको थापाले जानकारी दिनुभयो । पहिलो दिन ओलाङचुङगोलामा बास बसेको टोली दोस्रोदिन भोलिपल्ट टिपाताला पुगेर सवारीमै फेरि ओलाङचुङगोला बास बस्न आइपुगेको थियो । फुङलिङबाट हिंडेको तेस्रो दिन फुङलिङमै आइपुगेको थापाले जानकारी दिनुभयो ।
ओलाङचुङगोलाबाट सवारीमा टिपताला पुग्न करिव ५ घण्टा लागे पनि टिपतालाबाट ओलाङचुङगोला आइपुग्न करिव अढाई घण्टा मात्र लागेको थापाले जानकारी दिनुभयो । नेपाल–चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको टिपताला–रानी सडकखण्डको सबैक्षेत्र कालोपत्रे भए यसले त्रिदेशीय व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याउने थापाले विश्वास लिनुभयो । यसअघि गत मंसिर अन्तिम साता तिब्बतको डिङजी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबिच भएको अन्तरदेशीय सीमा सुरक्षा बैठकमा क्रममा सरकार–सरकारबिचको सहमति भए फुङलिङ–टिपताला सम्मको सडक कालोपत्रे गर्ने बिषय अघि बढाउन सकिने तिब्बती अधिकारीले बताएका थिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले तिब्बती अधिकारीसंगको सीमा सुरक्षा बैठकमा समावेश भएका बिषयका बारेमा गृहमन्त्रालय समक्ष जानकारी गराईसकेको बताउनु भएको छ । यसैविच,फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले ओलाङचुङगोलाको मौवामा सुख्खा बन्दरगाह बनाउने कार्य तत्काल अघि बढाउनुपर्ने बताउनु भएको छ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीबिच समन्वय गराउने तथा नेपालकोतर्फबाट दोभाषेको समेत काम गर्दै आउनु भएका शेर्पाले सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको करिव दुईबर्ष भइसकेको स्मरण गर्दै बिस्तृत परियोजना प्रतिबेदन तयार पारी तत्काल सुख्खा बन्दरगाह निर्माणको प्रकृया अघि बढ्नुपर्ने मत राख्नु भएको हो ।
सडकको पहुँचसंगै सुख्खा बन्दरगाह निर्माणको प्रकृया समेत अघि बढे यसले त्रिदेशीय व्यपार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । यसअघि ताप्लेजुङ र तिब्बतका अधिकारीबिचको अन्तरदेशीय सीमा बैठकमा सहभागी हुन वडाध्यक्ष शेर्पाले समेत रिउ पुग्नु भएको थियो । मौवाटार सुख्खा बन्दरगाह निर्माणका लागि उपयुक्त ठाउँ रहेको सम्भाव्यता अध्ययनबाट देखिई सकेकोले सडक स्तरोन्नती र सुख्खा बन्दरगाह निर्माणको कार्य तत्काल अघि बढाउनुपर्ने वडाध्यक्ष शेर्पाको निश्कर्ष छ । मौवाटार समुद्र सतहबाट ४ हजार १ सय मिटर उचाईमा रहेको छ ।