| |

एक्ली महिला वडाध्यक्ष बन्नुभयो कुमारी साउदेन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १७ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैँचामा सम्पन्न उपनिर्वाचनमा कुमारी साउदेन निर्वाचित बन्नुभएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी साउदेन वडाध्यक्षमा निर्वाचित भएसँगै उहाँ ताप्लेजुङ जिल्लामा एक्ली महिला वडाध्यक्ष बन्नुभएको छ ।
नवनिर्वाचित वडाध्यक्ष कुमारीको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का अम्बि साउदेन बन्नुभयो । कुमारीले ३५३ मत प्राप्त गरी विजयी हुँदा अम्बिले २५१ मत पाउनुभएको छ । सम्बन्धले चेली माइती रहनुभएका उहाँहरुको मतान्तर १०२ रहेको छ ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार भीमकुमार लक्सम्बाले २१८ मत प्राप्त गर्नुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रनध्वोज काङ्भा (राजेन्द्र) ले ५४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद पौडेलले भने सात मत मात्र प्राप्त गर्नुभयो ।
सिकैँचाको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५२८ रहेका थिए । कुल मतदातामध्ये ५८.३१ प्रतिशत अर्थात ८९२ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपनिर्वाचनमा खसेको मतमध्ये ८८३ मत सदर र नौ मत बदर भएको थियो ।
यता सिकँैचामा कुमारी निर्वाचित भएसँगै उहाँ एक्ली वडाध्यक्ष बन्नुभएको हो । जिल्लाका नौ स्थानीय तहमा ६१ वटा वडा रहेका छन् । यसअघि २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा सबै वडाको वडाध्यक्षमा पुरुष मात्र निर्वाचित हुनुभएको छ । सिकैँचामा पनि वडाध्यक्षमा दिलप्रसाद बोखिम निर्वाचित हुनुहुन्थ्यो । काँग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभएका उहाँ वैदेशिक रोजगारीमा हङकङ गएपछि उपनिर्वाचन भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts