व्यवसायीकै घरदैलोमै पुगेर व्यवसाय दर्ता गर्न थालियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङको फुङलिङ नगपालिकाले व्यवसायीको घरदैलोमै पुगी व्यवसाय दर्ता तथा नविकरण कार्य गर्न थालेको छ ।
फुङलिङ नगरपालिकाका अधिकृत छैटौं कृष्णप्रसाद सुबेदीका अनुसार दर्ता प्रकृयामा आउन बाँकी रहेका व्यवसायीलाई व्यवसायीकै घरदैलोमा पुगेर व्यवसाय दर्ता गरी दर्ता कागज दिने कार्य सुरु गरिएको हो । हालसम्म करिव ५० वटा व्यवसाय दर्ता प्रकृयामा आएको सुबेदीले जानकारी दिनुभयो । यसअघि संयुक्त बजार अनुगमन टोलीले दर्ता तथा नविकरण प्रकृयामा आउन नसकेका व्यवसायलाई बैधानिक प्रकृयामा आउन निश्चित समय दिएको थियो । संयुक्त बजार अनुगमन टोलीले बैधानिक प्रकृया पूरा गर्न सुझाएका व्यवसायीलाई पहिलो प्राथमिकतामा राखी फुङलिङ नगरपालिकाको टोलीले व्यवसायीका घरदैलोमै पुगी दर्ता तथा नविकरण कार्य गर्दै आएको छ ।
टोली संयोजक सुबेदीका अनुसार व्यवसायीलाई दर्ताका लागि कार्यालय आउन समस्या भइरहेकोसहितका बिषयको सहजीकरण नगरपालिकाले गरेको हो । नगरपालिकाको टोलीले व्यवसायीको अभिलेख सुरक्षित गर्न आवश्यक कागजात समेत व्यवसायीबाट लिएर व्यवसायीकै घरदैलामो व्यवसाय दर्ता गर्ने र यो कार्यलाई निरन्तरता दिने जनाएको छ । व्यवसायीलाई दर्ता र नविकरणका लागि प्रोत्साहित गर्ने उद्देश्यसहित व्यवसायीकै घरदैलोबाट सेवा दिने योजनामा नगरपालिका रहेको सुबेदीले बताउनुभयो । यसबाहेक संयुक्त बजार अनुगमनका क्रममा देखिएका व्यवसायिक कैफियत सुधारको अवस्थाको समेत सुक्ष्म अनुगमन भइरहेको समेत टोली संयोजक सुबेदीले जानकारी दिनुभयो ।
संयुक्त बजार अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले अनुगमन समितिले मासिक र नियमित रुपमा अनुगमन गर्नेगरी कार्यतालिका तयार गरेको र सो कार्यलाई निरन्तर र नियमित बनाउने जानकारी दिनुभयो । अनुगमन समितिले खाद्यान्न,तरकारी,स्वास्थ्य संस्था(मेडिकल हल),माछा तथा मासुजन्य पदार्थ बिक्री बितरण गर्ने पसल,होटल र मदिराजन्य पदार्थ बिक्री बितरण गर्ने पसललाई कार्यतालिका बनाई अनुगमन गर्ने कार्यसूची तयार गरेको समेत सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।