भूमिगत संरचना निर्माणमा ऐतिहाँसिक प्रतिक्षा समाप्त हुँदै,माथिल्लो तमोरले यसैमहिना टिबीएम सञ्चालनमा ल्याउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङमा निर्माणाधिन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाले आयोजनाको भूमिगत संरचना निर्माणका लागि यसै महिना टनेल बोरिङ मेसिन(टिबीएम)सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलोपटक टिबीएम मेसिनद्धारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो । आयोजना संयोजक सम्झना क्षेत्रीले कात्तिक महिनामै टिबीएम मेसिन सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।‘यो महत्वकाँक्षा,नवीनता र प्रगतिको एक यात्रा हो’आयोजना संयोजक क्षेत्रीले भन्नुभयो । टिबीएम मेसिनलाई वातावरणमैत्री र कम भन्दा कम ध्वनी प्रदुषण हुने आधुनिक युगको मेसिनको रुपमा लिने गरिन्छ । आयोजनाको मुख्य स्थल फक्ताङलुङ गाउँपालिकामा पर्छ । यसले फुङलिङ नगरपालिका वडा नं १० लाई समेत प्रभावित क्षेत्र मानेको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा आयोजनाको मुख्य बाँध रहने छ । वडा नं ३ लिङखिमको ठौवामा आयोजनाको विद्युत गृह हुने छ । मुख्य बाँध रहने क्षेत्र तापेथोकबाट ८ हजार ३ सय ७० मिटर लामो भूमिगत(सुरुङ)मार्गमार्फत तमोर नदीको पानी विद्युत गृह स्थल ठौवामा ल्याइने छ । विद्युत गृह सहितका मुख्य संरचनाहरु भूमिगत हुने आयोजनाले जनाएको छ । तमोर इनर्जी प्रालि मुख्य प्रर्वद्धक रहेको माथिल्लो तमोर जलविद्युत आयोजना स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै ठूलो क्षमताको जलविद्युत आयोजना हो ।

माथिल्लो तमोर जलविद्युत आयोजना अर्ध जलाशययुक्त हो । ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनाका लागि बैंक तथा बित्तीय संस्थाको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी रहने छ । आयोजनाको वित्तीय व्यवस्थापन अन्तरगत कर्जा सुविधा व्यवस्थापनको अगुवाई एभरेष्ट बैंकले गरेको छ । कृषि विकास बैंक र एचआईडिसिएलले कर्जा सुविधामा सहायक दायित्व लिएका छन् भने राष्ट्रिय वाणिज्य बैंक,प्रभु बैंक,नेपाल एसबिआई बैंक र गरिमा बैंक लगानी साझेदार वित्तीय संस्थाको रुपमा रहेका छन् । आयोजना निर्माणको क्रममा २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने आयोजनाले यसअघि नै बताईसकेको छ । प्राकृतिक विपद् र अन्य कारणबाट कामको गतिमा उल्झन नआए २०८५ साल जेठ महिना आयोजनाले निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ ।

Similar Posts