फुङलिङको मेवाराजा आवि कोशी प्रदेशमा उत्कृष्ट हुँदै पुरस्कृत हुने सूचीमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङको फुङलिङस्थित मेवाराजा आधारभूत बिद्यालय प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल(पान)द्धारा कोशी प्रदेशकै उत्कृष्ट आधारभूत बिद्यालयमा पर्दै पुरस्कारका लागि छनौट भएको छ ।
पानका अध्यक्ष सुदामप्रसाद गौतमले पानको तेस्रो राष्ट्रिय सम्मेलन २०८३ को अवसरमा आउँदो मंसिर ४ गते मेवाराजा आधारभूत बिद्यालयलाई पुरस्कार ग्रहणका लागि जनकपुर धाम धनुषामा बोलाउनु भएको छ । गौतमका अनुसार निश्पक्ष,पारदर्शी,विश्वसनीय र योग्यताका आधारमा मेवाराजा आविलाई छनौट गरी पुरस्कारका लागि आमन्त्रण गरिएको हो ।
पानले नेपालको बिद्यालयको शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व,गुणस्तर,नवप्रर्वतन,उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहित गर्न हरेक बर्ष राष्ट्रिय सम्मेलन आयोजना गरी उल्लेखनीय योगदान दिने स्थानीय सरकार,बिद्यालय,प्रधानाध्यापक,विशिष्ट शिक्षाविद् तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आइरहेको छ ।
आफ्नो वडामा रहेको मेवाराजा आधारभूत बिद्यालय कोशी प्रदेशकै उत्कृष्ट आधारभूत बिद्यालयको रुपमा छनौट भई पुरस्कृत हुन लागेकोमा फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले प्रसन्नता व्यक्त गर्दै पुरस्कृत बिद्यालयलाई बधाई दिनु भएको छ ।