फक्ताङलुङद्धारा ६ मुख्य उपलब्धी सार्वजनिक,शिक्षा क्षेत्रमा कुल बजेटको ५० प्रतिशत लगानी गरिएको दावी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६ मुख्य र केहि सहायक सहित पछिल्लो कार्यकालका मुख्य उपलब्धी सार्वजनिक गरेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार पालिकाको कुल बजेटमध्ये ५० प्रतिशत बजेट शिक्षामा लगानी गरिएको छ । अहिलेका बालबालिका नै भोलीका असल नागरिक भएको बिषयलाई मनन् गर्दै पालिकाले पालिका क्षेत्रका सबै बिद्यार्थीलाई सदरमुकाम फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म पूर्ण छात्रबृत्तिको व्यवस्था गरिएको छ । प्राविधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीका लागि ५० प्रतिशत शैक्षिक छात्रबृत्ति प्रदान गरिएको पालिकाले जनाएको छ । पालिकाले ६० बर्ष देखि ७० बर्ष उमेर समूहका नागरिकको आर्थिक अभाव व्यवस्थापनका लागि चालु आर्थिक बर्षदेखि स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको थालनी भएको जनाएको छ । संघीय सरकारले ७० बर्ष उमेर पूरा भएका नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । पालिकाले भने ६० बर्ष देखि ७० बर्ष उमेर समूहका नागरिकलाई स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको थालनी गरेको जनाएको छ ।

पालिका अध्यक्ष लिम्बूले आफुले मासिक रुपमा पाउने सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्नेगरी आफुले नागरिकलाई सर्मपित गर्दै आएको जनाउनु भएको छ् । उहाँले पाउने मासिक सुविधा कोष बनाएर खर्च गर्ने गरिएको छ भने उहाँले अहिलेसम्म मासिक सुविधा लिनु भएको छैन । नागरिकहरु सेवा र अवसरबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्दै आएको उहाँले बताउनु भएको छ् । पालिकाले विगत ४ बर्षदेखि पालिका भित्रका स्वास्थ्य संस्था र पालिका देखि जिल्ला सदरमुकाममा रहेको स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बिरामीलाई एम्बुलेन्स सेवा निःशुल्क रुपले प्रदान गर्दै आएको जनाएको छ । आर्थिक अभावका कारण कसैले पनि उपचारको पहुँचमा पुग्न कठिनाई झेल्नु नपरोस् भन्ने हिसावबाट अहिलेसम्म करिव १ हजार ४ सय जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

फक्ताङलुङ गाउँपालिकाले पालिकालाई कृषि उत्पादनमा आत्मभिर्नर बनाउन तथा अर्गानिक कृषि प्रणालीमा आवद्ध गराउन छिरुवामा स्थापित एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रमार्फत आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने कार्य भएको र यसबाट किसानले उन्नतजातका पशुपंक्षि र मल बीऊबिजनका साथ कृषि प्रणालीको प्रविधि बारे समेत जानकारी पाइरहेको पालिकाले जनाएको छ । स्वस्थ्य,सफा र आधुनिक प्रविधिमैत्री कृषि उत्पादनलाई जोड दिएर उत्पादन र उत्पादकत्व बृद्धि गर्ने पालिकाको लक्ष्य रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

राजनीति केवल चुनाव जित्ने माध्यम मात्र नभई नागरिकको जीवनमा सुधार ल्याउने अभियान समेत भएको बताउँदै पालिका अध्यक्ष लिम्बूले पालिकाले सञ्चालन गर्दै आएका कार्यक्रमहरुमा नागरिकहरुको सुझावको समेत अपेक्षा गर्नु भएको छ । उहाँले नागरिकहरुका आधारभूत आवश्यकताको पूरा गर्दै सरकारले नागरिकको अभिभाकत्व ग्रहण गर्नुपर्ने दायित्व समेत रहेकोले आफुहरु नागरिकका समस्याप्रति सम्बेदनशिल रहेको समेत बताउनुभयो । वडातहमा टोलबस्ति तहबाट योजनाको छनौट गरिएको र पालिका स्तरका योजना समेत नागरिकको आवश्यकताको आधारमा छनौट गरी सोहि अनुसार कार्यान्वयन हुँदै आएको पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ ।

Similar Posts