योगाभ्यास सहित ताप्लेजुङमा मनाइयो राष्ट्रिय योग दिवस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १ । पतञ्जली योग समिति ताप्लेजुङ र जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको संयोजनमा बिहीबार फुङलिङमा योगाभ्यास सहित ११ औं राष्ट्रिय योग दिवस मनाईएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा योग दिवस मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा,फुङलिङनगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ र पतञ्जली योग समिति कोशी प्रदेश समिति सदस्य शान्ति मादेनले योगको महत्व र यसको नियमितता बारे आ–आफ्नो धारणा राख्नु भएको थियो । ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’भन्ने नारा सहित यसबर्ष ११ औं राष्ट्रिय योग दिवस मनाईएको हो । पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष सुष्मा शाक्यका अनुसार विविध आसन,अभ्यास,साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । धार्मिक विश्वासअनुसार भगवान शिवद्वारा अनुशरण गरिएको पद्धतिलाई योगको रुपमा लिने गरिन्छ ।
महर्षी पतञ्जलीका सिद्धान्तअनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । मानिसको अस्थिर मनलाई स्थिर बनाउन योगले ठूलो मद्यत पुग्ने विश्वास गरिन्छ । योगले मानिसलाई आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्षम बनाउँछ । अज्ञानताबाट ज्ञानतर्फ,जडबाट चेतनातर्फ,निर्बलताबाट सवलतातर्फ,जीवनबाट ब्रह्मतर्फ र प्रत्यक्षबाट परोक्षतर्फको आध्यात्मिक यात्रालाई योगको रुपमा लिने गरिएको छ । जानकारहरुका अनुसार योगले शरीर,मन र आत्मालाई संयोजन गर्दछ । शारीरिक,मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत पु¥याउनुका साथै मानसिक शान्ति र आत्मबोध प्राप्त गर्न मद्दत गर्ने भएकोले योगको महत्व अधिक रहेको बिहीबार ताप्लेजुङमा आयोजित ११ औं राष्ट्रिय योग दिवसका बिचार व्यक्त भएको छ ।