| |

फङ्फङदेन पर्यटन तथा सांस्कृतिक मेला मंसिर पहिलो साता

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको तयारी गरिएको छ । पर्यटन प्रवर्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यसहित तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको तयारी गरिएको हो ।
आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो । आयोजक समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार आगामी मङ्सिर २ देखि ६ गतेसम्म मेला आयोजना गर्नेगरी तयारी गरिएको छ ।
मिक्वाखोला गाउँपालिका–४ साँवामा अवस्थित फुङ्फुङगे झरनाको प्रवर्धन र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने मुख्य उद्देश्यले मेला आयोजना गर्न सुरु गरिएको समितिका अध्यक्ष साँवाले बताउनुभयो । पर्यटनसँगै लघुउद्यम तथा परम्परागत उत्पादनको बजारीकरण गर्ने र पर्यटनमैत्री गतिविधि गर्दै सिङ्गो जिल्लाकै पर्यटन विकासका लागि जिल्लावासीलाई जागृत गराउने उद्देश्यसमेत राखिएको साँवाले बताउनुभयो ।
यसैगरी मेलाको माध्यमबाट फुङ्फुङगे झरनासँगै मिक्वाखोलाभित्र रहेका तोक्पेगोला, सोदुपोखरी, वाग्मा पोखरी, लोदेन क्षेत्रसहित अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा टेवा पु¥याउने लक्ष्य रहेको समितिका अध्यक्ष साँवाको भनाइ छ । मेलामा फुङ्फुङगे झरनाको सौन्दर्य प्रवर्धन, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरुको प्रदर्शनी रहने छ ।
मेलाको मुख्य आकर्षणका रुपमा पुरुष फुटबल प्रतियोगिता रहेको छ । फुटबल प्रतियोगितामा जिल्लाभित्र र झापा, सुनसरी, पाँचथरलगायत जिल्लाका गरी आठ टोलीलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ । फुटबल विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ र उपविजेतालाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष साँवाले जानकारी दिनुभयो ।
यता मेला सम्पन्न गर्नका लागि १९ लाख ५० हजार ११२ रुपियाँ खर्च हुने अनुमान गरिएको मेला सञ्चालन समितिका आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर साँवाले जानकारी दिनुभयो । उपसमिति संयोजक साँवाका अनुसार मिक्वाखोला गाउँपालिका, ४ नम्बर वडा साँवा, विभिन्न जलविद्युत कम्पनीको आर्थिक सहयोग रहने छ भने अन्य दाताहरुबाट सहयोग सङ्कलन गर्ने आयोजकले योजना बनाएको छ ।
पत्रकार सम्मेलनमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा शेर्पा, आयोजक समितिका पदाधिकारी, सो क्षेत्रका सामाजिक व्यक्ति लगायतको उपस्थिति रहेको थियो । आयोजक समितिका अनुसार मेला फुङ्फुङगे झरना रहेको क्षेत्र साँवाको तेम्बामा सञ्चालन हुने छ ।

Similar Posts