सम्पन्नताको नजिकमा दगुर्दै माथिल्लो काबेली जलविद्युत आयोजना,करिव ५ किलोमिटर सुरुङमार्गमा ब्रेक थु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको करिव ५ किलोमिटर लामो हेडरेस सुरुङमार्गमा ब्रेक थु भएको छ ।

आयोजनाले इन्टेक देखि अडिटसम्मको १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्ग गत साउन महिनाको पहिलो साता ब्रेक थु गरेको थियो । सुरुङमार्गमा एकपछि अर्को सफलता पाएसंगै आयोजनाले आफुलाई सम्पन्नताको नजिक बनाएको छ । २८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाका अनुुसार ४ हजार ८ सय ९६ मिटर लामो हेडरेस सुरुङमार्ग सम्पन्न गरिएको हो । हेडवर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुनेछ । आयोजनाका लागि खोयाहाङ देखि सिनामसम्म हेडरेस सुरुङमार्ग थियो । पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवद्र्धक रहेको छ ।

पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो । सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । कुल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैङ्कहरूको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवद्र्धकको स्वपुँजी रहने भएको छ । माछापुच्छ्रे बैंकको अगुवाइमा बैकहरूले ऋण लगानी गरिरहेका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल),राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

Similar Posts