जसपा पहिचानको मुद्दा बोकेर चुनावमा जाने,सञ्जुहाङको दावी‘बंगालादेशी नागरिक राष्ट्रवादमा अब्बल ठहरिए’
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ६ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले बंंगालादेशको चुनावबाट प्राप्त नतिजाले त्यहाँका नागरिक बलियो राष्ट्रवादी अडानमा छन् भएको पुष्टी भएको बताउनु भएको छ। पालुङवाले प्रकृति पूजक मुन्धुमी संस्कृति,हिन्दु सनातन संस्कृति र बौद्धिष्ट संस्कृतिको जग बलियो र प्रभावशाली बनाउन यसपटकको चुनाव बिशेष प्रकृतिको हुने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट जनता समाजवादी पार्टीका उम्मेदवार अरुण लेछर्बो लिम्बूको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्न फुङलिङमा बुधवार आयोजित कार्यक्रममा बोल्दै पालुङ्वाले पहिचानको मुद्दा बोकेरै निर्वाचनमा जाने तयारी सुनाउनुभयो । जनता समाजवादी पार्टी,राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी एकभएर जाँतो चिन्हमार्फत चुनावी अभियानमा रहेका छन् । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी,श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी मुलुकलाई पश्चिमा धर्मको संरक्षण गर्ने र मौलिक धर्म मास्नेतर्फ तर्फ उद्यत रहेको आरोप समेत लगाउनुभयो । काँग्रेस,एमाले र माओवादी सहितका पुराना भनिएका शक्तिले नेपालको मौलिक धर्म,संस्कार र संस्कृतिलाई मासेर पश्चिमा संस्कृतिलाई फैलाउन जग हालिदिएको पालुङ्वाको आरोप थियो ।
‘नो कोशी,नो केवलकार सहितका पहिचानका मुद्दा जाँतो निर्वाचन चिन्हमा आबद्ध घटक बाहेक अरुले बोक्नै नसक्ने उहाँले बताउनुभयो । लिम्बूवानको मुद्दा बोक्दा देश टुक्रिन्छ भन्नेहरुले टिमोर देश कसरी टुक्रियो र छिन्नभिन्न भयो भन्नेतर्फ गहन अध्ययन गर्नुपर्ने उहाँको सुझाव छ । पाथीभरा केवलकार निर्माण गर्ने कम्पनीका मालिक चन्द्र ढकालका छोरालाई समानुपातिक सूचीमा राखेको पार्टीका नेताले पाथीभरा पुग्दा‘जय मुक्कुमलुङ’भन्नु मतदातालाई भ्रममा पार्न खोज्नु मात्र रहेको उहाँको दावी थियो । उहाँले अबको विकास प्रकृति र संस्कृतिको संरक्षण केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जसपाकातर्फबाट ताप्लेजुङका उम्मेदवार लेछर्बोले पहिचानको मुद्दा नै आफ्नो चुनावी नारा हुने बताउनुभयो । ‘नो कोशी,नो केवलकार सहित जलविद्युत आयोजनाबाट प्रकृति दोहनमा भइरहेको गलत कार्य रोक्नेतर्फका एजेण्डा लिएर आफु चुनावी मैदानमा होमिएको दावी गर्नुभयो ।
चुनावी सरगर्मी बढीरहेको ताप्लेजुङमा दलहरुले आफ्नो चुनावी आमसभा समेत धमाधम गरिरहेका छन् । नेपाली काँग्रेस फुङलिङ केन्द्रित भएको छ । बुधवार उसले उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङ सहितका जिल्लास्थित शीर्ष नेताको उपस्थितिमा फुङलिङ नगरका बिभिन्न वडाहरुमा सभा गरेर अबका कार्यक्रम पालिका स्तरमा केन्द्रित गर्ने योजना बनाएको छ । एमाले उम्मेदवार क्षितिज थेबे घरदैलो कार्यक्रम सकेर पालिका स्तरका चुनावी सभामा केन्द्रित हुनु भएको छ । एमालेले सिदिङ्वा,सिरिजङ्गा र पाथीभरा याङवरकमा चुनावीसभा सम्पन्न गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले चुनावी सभा भन्दा घरदैलोलाई नै प्राथमिकता दिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार वीरेन्द्र श्रेष्ठको उपस्थितिमा घरदैलो कार्यक्रमका साथ बुधवार फुङलिङ नगरपालिकाको वडा नं १० मा सभा सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्र थापा चुनावीसभा र घरदैलोका लागि सदरमुकाम र पालिका स्तरका कार्यक्रममा केन्द्रित हुनु भएको छ ।
श्रम संस्कृति पार्टी संगठन बिस्तार तथा घरदैलो कार्यक्रममा एकसाथ अघि बढेको छ । सो पार्टीका उम्मेदवार सन्तोष राई जिल्लाका सबै पालिकामा पुगेर घरदैलोमा केन्द्रित हुने बताउँनुहुन्छ । उज्यालो नेपाल पार्टीका उम्मेदवार कीर्तिमान मादेन घरदैलो कार्यक्रममा व्यस्त देखिनु भएको छ । सिदिङ्वा,सिरिजङ्गा र पाथीभरा याङवरक गाउँपालिकाका मतदातासंग भेटघाट गरेर उहाँ मिक्वाखोला,मेरिङदेन,आठराई त्रिबेणी,मैवाखोला र फक्ताङलुङतर्फ केन्द्रित हुनुहुने छ् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लावुङ,मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू,जनता समाजवादी पार्टी नेपालका सूर्य तमू,नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ र नेपाल कम्युनिष्ट पार्टी माओवादीका नरपति पौडेल घरदैलो कार्यक्रममा केन्द्रित हुनु भएको छ । उहाँहरु सबै पालिका पुग्दै मतदातासंग भेटघाट गरिरहनु भएको छ ।