दलित र गैर दलित समुदायबिच अन्तर जातीय बिबाह गर्ने दम्पत्तिलाई आठराई त्रिबेणीको सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले दलित र गैर दलित समुदायबिच अन्तर जातीय बिबाह गर्ने दम्पत्तिलाई सम्मान गरेको छ ।

पालिकाको महिला विकास शाखा प्रमुख सीता लिम्बूका अनुसार अन्तर जातीय बिबाह गर्ने १५ जोडीलाई सम्मान गरिएको हो । लिम्बूका अनुसार पालिकाको अभिलेखमा दलित र गैर दलित समुदायबिच अन्तर जातीय बिबाह गर्ने १७ दम्पत्ति रहेका छन् । तिमध्ये अहिले यही बसोबास गर्दै आएका १५ दम्पत्तिलाई पालिकाले सम्मान गरेको हो । पालिकाले दलित समुदाय लक्षित सचेतना कार्यक्रम अन्तरगत दलित र गैर दलित समुदायबिच अन्तर जातीय बिबाह गर्ने दम्पत्तिलाई सम्मान,वक्तृत्वकला र कविता प्रतियोगिता समेत सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले कानुनले प्रतिवन्ध गरिसकेको जातीय विभेद तथा छुछाछूत समाजले अहिलेसम्म पनि कायम राख्नु गलत भएको बताउनुभयो । यस्ता कुसंस्कारका बिरुद्ध जागरणको जरुरी भएको बताउँदै आफुहरुले दलित समुदायको आत्मसम्मान र जातीय समानताका पक्षमा जागरण स्थापित गर्न दलित समुदाय सम्मान सहित सचेतना कार्यक्रम आयोजना गरेको पोमूले बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजवंशी,आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यमान यक्सो,वडा नं ४ का वडाध्यक्ष अर्जुन लिम्बू,कार्यपालिका सदस्यद्धय मनकुमार नेपाली र सीता बराइली सहितका जनप्रतिनिधि,शिक्षक,नागरिक समाजमा अगुवासहितको उपस्थिति रहेको दलित अधिकारकर्मी गणेश कार्कीढोलीले जानकारी दिनुभयो ।

Similar Posts