स्वास्थ्य सूचक प्रगतिको मापनका आधारमा आठराई त्रिबेणी जिल्लामै पहिलो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २७ । स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको सञ्चालन,व्यस्थापन र कार्य सञ्चालन सूचकका आधारमा ताप्लेजुङका ९ स्थानीय तहमा आठराई त्रिबेणी गाउँपालिका पहिलो भएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारायण दुलालका अनुसार स्वास्थ्य सूचकको प्रगति,तथ्याङ्कको गुणस्तर तथा समग्र उपलब्धीको मूल्याङ्कनका आधारमा आठराई त्रिबेणी गाउँपालिकाको कार्य सम्पादन ताप्लेजुङ जिल्लामै पहिलो भएको हो । स्वास्थ्य कार्यालयले आर्थिक बर्ष २०८२।८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रममार्फत उत्कृष्ट हुने स्थानीय तहका स्वास्थ्य संस्थालाई पुरस्कृत गरेको छ । दुलालका स्वास्थ्य सूचकका समग्र मूल्याङ्कनका आधारमा अनुसार फुङलिङ नगरपालिका दोस्रो र मेरिङदेन गाउँपालिका तेस्रो भएका छन् ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारी,ल्याव टेक्निसियन निरीक्षक तथा सूचना अधिकारी दुलाल,जनस्वास्थ्य अधिकृत रुपेशकुमार यादव र कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रेवा कृष्ण थापा सहितले उत्कृष्ट हुने पालिकाका स्वास्थ्य शाखालाई पुरस्कृत गर्नु भएको छ । स्वास्थ्य सूचकको प्रगतिका आधारमा आफ्नो पालिका प्रथम भएपछि आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले यो उपलब्धीलाई साझा प्रयासको परिणाम भएको प्रतिक्रिया दिनु भएको छ । पालिका अध्यक्ष पोमूले उपलब्धीमा गर्व गर्दै अझ बढी जिम्मेवार भएर नागरिकको सेवामा सर्मपित रहने समेत बताउनु भएको छ ।