आठराई त्रिबेणीको सार्वजनिक सुनुवाई:आउँदो पुस भित्रमा फुसको छानो बिस्थापन भएको पालिका घोषणा गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले २०८३ साल पुस महिना भित्रमा आठराई त्रिबेणीलाई फुुसको छानो बिस्थापन भएको पालिका घोषणा गर्ने भएको छ ।
पालिकाले मंगलवारबाट सुरु गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अन्तरगत वडा नं १ निघुरादिनमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष दीपेन्द्र पोमूले फुसको छानो बिस्थापन गर्नुपर्ने संख्या अब पालिका भित्र सयभन्दा मुनि रहेको जानकारी दिनुभयो । पोमूका अनुसार अहिलेसम्म पालिका भरीका ५ सय घरधुरीको वुहाफुसको छानो बिस्थापन भइसकेको छ । अब ७४ घर परिवारको फुसको छानो बिस्थापन गर्ने काम मात्र बाँकी रहेकोले उक्त कार्य आउँदो पुस महिना भित्रमा पूरा गर्ने पोमूले घोषणा गर्नुभयो । सार्वजनिक सुनुवाईका क्रममा पालिका अध्यक्ष पोमूले विकास निर्माणका कार्य गर्दा व्यक्तिको सम्पत्ति क्षति नहुनेगरी गर्नुपर्छ भन्ने मान्यता पालिकाको रहेको बताउनुभयो । नसक्ने सपना नबाड्ने र बोलेको कुरा पूरा गरेर छाड्ने आफ्नो स्वभाव रहेको समेत पोमूले बताउनुभयो । सार्वजनिक शिक्षा सुधारका आठराई त्रिबेणीबाट भइरहेको पहलकै कारण सामुदायिक बिद्यालयको सिकाई सुधारमा राम्रो नतिजा देखिन थालेको पोमूले बताउनुभयो ।
यसबर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा आठराई त्रिबेणीका ७४ प्रतिशत बिद्यार्थी उर्तीण भएका थिए । ९ स्थानीय तहमध्ये आठराई त्रिबेणीको नतिजा पहिलो हो भने मैवाखोलामा आठराई त्रिबेणी भन्दा केहि प्रतिशत कम अर्थात् ७३.७३ प्रतिशत बिद्यार्थी उर्तीण भएका थिए । शिक्षिकका डिका खतिवडाले शिक्षकको पेशागत तालिम,क्षमत अभिबृद्धि तालिम,बिद्यालय अनुदान कार्यक्रम,शिक्षक तथा बिद्यार्थी प्रोत्साहन कार्यक्रम सुरु गरेर पालिकाले राम्रो काम स्मरण गर्दै अभिभावक सचेतना कार्यक्रमको माग गर्नुभयो । पालिका शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष पोमूले अभिभावकले चासो लिएर बिद्यार्थीका बारेमा अभिभावक स्वयं लगनशिल हुने माग आए आफुहरु यस्तो कार्यक्रमका लागि पछि नहट्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बाँदरले बालीनालीमा गरेको क्षति देखि बाँदर नियन्त्रणसम्मका बिषयले प्रवेश पाएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा मोहन घिमिरे,शेरबहादुर तामाङ,बालकृष्ण घिमिरे,सुरेन्द्रकुमार ओली र रमेश बयलकोटी सहितले आफ्नो जिज्ञासा राख्नु भएको थियो । कृषि क्षेत्रमा लगानी गर्दा किसानको समेत साझेदारी रहने बिषय चुनौतिमा रहेको बताउँदै पालिका अध्यक्ष पोमूले चालु आर्थिक बर्षमा कृषि क्षेत्रमा करिव २ करोड बढी लगानी गरिएको स्मरण गराउनुभयो । लगानी साझेदारीका लागि प्रस्ताव गर्दा किसानबाट प्रस्ताव नै नआउनु दुःखद् पक्ष रहेको पोमूको भनाई थियो ।
कार्यक्रममा सेवाग्राहीले राखेका प्रश्नको जवाफ दिदैं पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले न्यायिक समितिमा प्राप्त भएका धेरैजसो बिबादको निरुपण मेलमिलापका माध्यमबाट टुङ्ग्याँदैं आएको जानकारी दिनुभयो । अनुगमनका कार्यमा आफुहरुले कुनै कञ्जुस्याँई नगरी प्रभावकारी ढंगले कार्य सम्पादन गर्दै आएको आङवुहाङको भनाई थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले चालु आर्थिक बर्षको बजेट,योजनाको अवस्था,योजना कार्यान्वयनको अवस्था,वडा नं १ निघुरादिनमा सञ्चालित योजना र तिनीहरुको अवस्था बारे प्रष्ट्याउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको समापन गर्दै आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठकले सार्वजनिक सुनुवाई कार्यक्रम सुशासनको सूचक समेत भएको उल्लेख गर्दै जनताका गुनासो,राय र सुझाव लिएर कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन आफुहरु तयार रहेको बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजवंशीका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम अन्तरगत असार ३ गते बुधवार वडा नं २ फुलवारीमा,बिहीबार असार ४ गते वडा नं ३ हाङपाङमा,शुक्रवार असार ५ गते वडा नं ४ चाँगेमा र शनिवार वडा नं ५ चाँगेमा कार्यक्रम आयोजना गरिएको छ ।