खेल सकिएको १५ दिनमै ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण सार्वजनिक,सबै रकम उठे ७ लाख बढी बचत हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३ । प्रतियोगिता सकिएको १५ दिनमै आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो अन्तराष्ट्रि आमन्त्रण ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
चौथो ताप्लेजुङ गोल्डकप गत भदौ १२ देखि १९ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेल मैदानमा सञ्चालन भएको थियो । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार ६५ लाख ८८ हजार ५ सय ९९ रुपैयाँ समितिको खातामा प्राप्त भइसकेको छ । बोल कवोल र सम्झौता भएको ३५ लाख ५ हजार रुपैयाँ समितिको खातामा जम्मा हुन बाँकी रहेको र आर्थिक प्रतिबेदनसहित समितिले अब उक्त रकम प्राप्तिको प्रकृया सुरु गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । प्रतियोगितामा ९३ लाख ७२ हजार २ सय ५० रुपैयाँ खर्च भईसकेको छ । २७ लाख ७९ हजार १ सय ५१ रुपैयाँ समितिले खर्च भएको रकम भुक्तानी गर्न(तिर्न)बाँकी रहेको समेत कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
समितिले बोल कवोल भएको र सम्झौता भइसकेको रकम प्राप्त भइसकेपछि समितिको खातामा ७ लाख २१ हजार ३ सय ४९ रुपैयाँ बचत हुने समेत जनाएको छ । समितिले प्याकेज टिकट तथा प्रवेशद्धारबाट ६१ लाख ७३ हजार ९९ रुपैयाँ प्राप्त गरेको जनाएको छ । सहयोग सहित टिकट प्याकेजबाट समितिले १४ लाख ६८ हजार २ सय ९८ रुपैयाँ प्राप्त गरेको छ । सहयोग सहित टिकट प्याकेज प्रति टिकट तीनहजार रुपैयाँको रहेको थियो । कोषाध्यक्ष शेर्पाका अनुसार ४ वटा क्वाटर फाइनल खेलबाट अवलोकनकर्तामार्फत ११ लाख ९१ हजार २ सय रुपैयाँ,दुईवटा सेमीफाईनलका खेलबाट ६ लाख ५ हजार ७ सय रुपैयाँ र फाइनल खेलबाट २० लाख २७ हजार रुपैयाँ संकलन भएको छ । फाइनल खेलमा १९ थान टिकट बिद्यार्थीलाई ५० प्रतिशत छुट दिँदा समितिले ४ हजार ७ सय ५० रुपैयाँ छुट दिएको जनाएको छ । समितिले क्वाटर फाइनलका प्रत्येक खेलका लागि समितिले दुईसय रुपैयाँ,सेमीफाइनलका प्रत्येक खेलका लागि तीनसय रुपैयाँ र फाइनल खेलका लागि पाँचसय रुपैयाँ टिकट दर निर्धारण गरेको थियो । समितिमा अहिले ४ लाख ४० हजार ८ सय १ रुपैयाँ बराबरको चल अचल जिन्सी सामान मौज्दात रहेको समेत कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
समितिले प्रतियोगितामा आवश्यक पर्ने साउण्ड सिस्टम,व्यवस्थापन,आन्तरिक यातायातसहितका कार्यमा १८ लाख ३५ हजार १ सय ४४ रुपैयाँ ६२ पैसा खर्च गरेको जनाएको छ । खेल मैदान व्यवस्थापन,साँस्कृतिक खर्च,खेलाडी यातायात सहितका कार्यमा ७ लाख ३५ हजार ९ सय रुपैयाँ,प्याराफिट निर्माण,बाँस खरिद तथा ढुवानीसहितका कार्यमा १० लाख ४ हजार ४ सय ४६ रुपैयाँ,रेफ्री तथा प्रशिक्षक सुविधा खर्च वापत ४ लाख ७६ हजार २ सय रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।
प्रतियोगिता अन्तरगत कार्यालय व्यवस्थापन तथा प्राविधिक खर्च वापत ५ लाख ५० हजार,गोल नेपालबाट प्रत्यक्ष प्रसारण तथा स्वयंसेवक व्यवस्थापनवापत ३ लाख ४९ हजार,साँस्कृतिक झाँकी प्रर्दशनीवापत ३ लाख ५० हजार ५ सय,टिम व्यवस्थापन,सेवा सुविधा खर्च वापत २५ लाख ५२ हजार ३ सय ५० रुपैयाँ,पुरस्कार तथा बिधागत खर्च वापत १२ लाख ४२ हजार ६ सय १५ रुपैयाँ र आयोजक स्वयंसेवक,सुरक्षाकर्मी खाना खाजा तथा अन्य खर्चवापत २ लाख ७६ हजार ९५ रुपैयाँ खर्च भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
लाखेजात्रा सञ्चालन समितिका पूर्व अध्यक्षद्धय युगराज गुरुङ र देवराज गुरुङ,कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य गीता पालुङ्वा लिम्बू,लाखेजात्रा सञ्चालन समितिका उपाध्यक्ष हर्कराज सुनुवार,सहसचिव डिल्ली गुरुङसहितका पदाधिकारी तथा सदस्यको उपस्थितिमा चौथो ताप्लेजुङ गोल्डकपको खर्च विवरण सार्वजनिक गरिएको हो ।