मैवाखोला गाउँपालिको एउटै वडामा भेटिए १० प्रतिशत सम्म मोतियाबिन्दुका बिरामी,डाक्टर रुईतले शल्यकृया गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १४ । ताप्लेजुङको एउटै वडामा २० जना मोतियाबिन्दुका रोगी भेटिएका छन् । कूल २ सय ७ जनाको परीक्षण गर्दा परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशत मोतियाबिन्दुका रोगी भेटिएका हुन् ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र दोभान आँखा उपचार केन्द्रका कार्यरत आँखा प्राविधिकहरुद्धारा मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुमा आँखाको परीक्षण तथा उपचार गरेको थियो । सो क्रममा १ सय ८ जनाले चश्मा लगाउनुपर्नेगरी आँखामा समस्या देखिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेले जानकारी दिनुभयो । मैवाखाला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ ढुङ्गेसाँघुका वढाध्यक्ष चन्द्रकुमार तामाङले मोतियाबिन्दु भएका आँखाका रोगीको फुङलिङमा फागुन १६ देखि १८ गते सम्म फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा हुने शल्यकृया सहितको आँखा शिविरमार्फत आँखाको शल्यकृया गरिने जानकारी दिनुभयो ।
तीनदिने शिविरमा शल्यकृया तथा आँखा उपचारका लागि विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको नेतृत्वमा तिलगंगा आँखा अस्पतालबाट चिकित्सक तथा प्राविधिक टोली फुङलिङ आउन लागेको छ । आँखाका रोगीहरुको पहिचान तथा मोतियाबिन्दु भएका बिरामीको छनौटका लागि मिक्वाखोला गाउँपालिकाको वडा नं २ खोक्लिङमा आँखा परीक्षण तथा उपचार हुँदैछ । नेपाल नेत्रज्योति संघले परीक्षणका क्रममा आवश्यक पर्नेलाई चश्मा र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
डिचेन डोङ्गला नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र हो । यो बाहेक नेत्रज्योति संघको प्रत्यक्ष संलग्नतामा ताप्लेजुङको दोभान तथा पाँचथरको यासोक र थर्पुमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । डिचेन डोङ्गलाका क्लिनक ईञ्चार्ज काजीमान गुरुङका अनुसार दोभान आँखा उपचार केन्द्रका लागि यहाँस्थित मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारी छ । यस्तै पाँचथरको यासोकमा रहेको आँखा उपचार केन्द्रका लागि कुम्मायक गाउँपालिका र थर्पु आँखा उपचार केन्द्रका लागि याङ्वरक गाउँपालिकाले आर्थिक साझेदारी गरेको गुरुङले जानकारी दिनुभयो । डाक्टर रुईतको नेतृत्वमा आएको चिकित्सक तथा प्राविधिकको टोलीले फुङलिङमा १६ गतेबाट नै मोयिताबिन्दुका बिरामीको छनौट गर्ने छ भने छनौट भएका बिरामीको फुङलिङमै शल्यकृयाको प्रवन्ध गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
के हो मोतियाबिन्दु ?
मोतियाबिन्दु आँखामा लाग्ने एक किसिमको रोग हो । यो रोग खासगरी पाका मान्छेहरुलाई लाग्ने गर्छ । मानिसको जन्मसँगै प्रकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ । यसरी आँखाको भित्री भागमा हुने पारदर्शी लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो हुनु मोतियाबिन्दु हुनु हो । आँखामा एउटा प्रकृतिक लेन्स हुन्छ । त्यो लेन्स पारदर्शी हुन्छ ।
पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ । त्यसको काम बाहिरबाट आएको प्रकाश छिर्न दिनु हो । लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतिबिन्दु भनिन्छ । तर, कहिलेकाहीँ दुर्घटना वा विकीरणको प्रभावमा परेर,जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रियाका कारण पनि यो समस्या देखापर्ने गर्दछ । जुनसुकै उमेरका मानिसमा मोतिबिन्दुको समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना बढी भएको पाइन्छ ।