पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानीको बन्देज हट्यो,सर्तकर्ताका लागि चेकजाँच र परीक्षण भने निरन्तर
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । ताप्लेजुङमा गत बैशाख ४ गते देखि झापा,मोरङ र सुनसरीसहितका जिल्लाबाट पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानीमा गरिएको प्रतिवन्ध बिहीबारबाट हटाईएको छ ।
जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले संक्रमण प्रभावित जिल्लामा बर्ड फ्लु रोगको संक्रमणमा घट्दो रुपमा पाईएको भन्दै सर्तकर्ताका उपायहरु आत्मसाथ गर्ने गरी झापा,मोरङ र सुनसरीसहितका जिल्लाबाट पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानी गर्न गरिएको गरिएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानीमा गरिएको प्रतिवन्ध फुकुवा भएपनि भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र तथा पशुपंक्षिजन्य उत्पादनको चेकजाँच तथा पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानीमा जिल्लास्थित सुरक्षा निकाय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक समेतको नियमित निगारानी रहने निर्णय भएको प्रजिअ सेढाइँले बताउनुभयो ।
यसअघि गत बैशाख ६ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले फुङलिङमा पंक्षि तथा पंक्षिजन्य उत्पादनको बिक्री बितरण गर्ने व्यवसायीबाट पंक्षि तथा पंक्षिजन्य उत्पादनको एन्टीजेन नमूना संकलन गरी परीक्षण गरेको थियो । एन्टिजेन नमूना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिएपनि पूर्व सर्तकर्ताका लागि तराईका तीन जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा गरिएको कडाईलाई निरन्तरता दिइदैं आएकोमा उक्त बन्देज बिहीबारबाट फुकुवा भएको छ । प्रमुख जिल्ला अधिकारी सेढाइँले पंक्षि तथा पंक्षिजन्य उत्पादनको आयात तथा ढुवानी खुल्ला भएपनि सावधानी र सर्तकर्ताका उपाय आत्मसाथ गर्न र कुनै किसिमको शंकास्पद अवस्था देखिए तत्काल सम्वन्धित निकायमा खबर गर्न पंक्षि तथा पंक्षिजन्य उत्पादनको बिक्री बितरण गर्ने व्यवसायी र पंक्षि पालन व्यवसायहरुलाई आग्रह गर्नु भएको छ ।