दर्ता भएर आयो ताम्राङ स्वास्थ्य चौकी,दशैं लगत्तै भवनको उद्घाटन गर्ने पालिकाको तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ ताम्राङमा स्वास्थ्य चौकी दर्ता भई आएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले लामो समयको पहल र प्रयासपछि ताम्राङ स्वास्थ्य चौकी दर्ता भई आएको जानकारी दिदैं ताम्राङवासीलाई बधाई तथा शुभकामना दिनु भएको छ । पालिका अध्यक्ष वनेमका अनुसार असोज १६ गते शुक्रवारबाटै वडा नं ४ स्थित खोप केन्द्रबाट सेवा प्रवाह सुरु हुने छ । भवनमा झ्याल ढोका लगाईसकेपछि ताम्राङ स्वास्थ्य चौकीकै नयाँ भवनबाट सेवा प्रवाह हुने पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । दशैं लगत्तै भवनको औपचारिक उद्घाटन गर्नेगरि पालिकाले कार्यतालिका तय गरेको समेत पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
पालिकाले तत्कालका लागि सिनियर अहेव इश्वरी निरौलालाई ताम्राङ स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी तोकेको जनाएको छ । पालिका अध्यक्ष वनेमले निर्वाचनताका सार्वजनिक गरिएको प्रतिबद्धता अनुसारका काम क्रमशःसम्पन्नउन्मुख प्रकृयामा रहेको र त्यसकै एक कार्यमध्ये ताम्राङ स्वास्थ्य चौकी दर्ता गरी त्यहीबाट सेवा प्रवाह गर्ने समेत रहेको बताउँदै उक्त कार्यको नजिक पुगेको समेत जानकारी दिनुभयो । ताम्राङ स्वास्थ्य चौकीको भवनलाई पालिकाले पछिल्लो समय प्रवलीकरण गरी स्वास्थ्य संस्थाको आधारभूत न्यूनतम् मापदण्ड र पूर्वाधारले भरिएको बनाउने कार्यमा आवद्ध गरेको छ । ताम्राङ स्वास्थ्य चौकी दर्ता भएर आएपछि अब स्थानीय नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने पालिकाको विश्वास रहेको छ ।