निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३१ । ताप्लेजुङका निर्माण व्यवसायी निर्माणसम्बन्धी काम रोकेर आन्दोलित बनेका छन् । अत्यधिक मूल्यवृद्धिका कारण निर्माणसम्बन्धी काम अघि बढाउन नसकिने भन्दै निर्माण व्यवसायीहरु आन्दोलित बनेका हुन् ।
बिहीबार निर्माण व्यवसायी संघ ताप्लेजुङको अगुवाइमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पेट्रोलियम पदार्थसहित निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सुरुमै सरकारसमक्ष विभिन्न माग राखिए पनि बेवास्ता गरएकाले आन्दोलनमा उत्रनु बाध्य हुनुपरेको व्यवसायीले बताएका छन् ।
निर्माण व्यवसायीहरुले योजना निर्माण अवधि (म्याद) थप गर्नुपर्ने र महंगीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरु सरकारसँग राखेको जनाएका छन् । उक्त मागहरु सरकारले बेवास्ता गरेका कारण आन्दोलित हुन बाध्य भएको निर्माण व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष जसबहादुर लिम्बूले बताउनुभयो ।
मूल्य वृद्धिकै कारण निर्माण व्यवसाय धरासायी बन्दै गएको र थप बजेट व्यवस्थापन नहुँदासम्म यसअघिका योजनाहरुको काम गर्नसक्ने स्थिति नभएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायमा नराम्ररी परेको असर, व्यवसायीले खेप्नुपरेको मारका विषय र आफ्ना मागहरु सम्बोधन गराउन सरकारलाई दबाब दिनका लागि निर्माण व्यवसायीहरुले आन्दोलनमा उत्रिनुपरेको छ ।
जिल्लाका निर्माणी व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै मूल्यवृद्धिले सिर्जना भएको परिस्थितिबारे अवगत गराउँदै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । हालको जटिल परिस्थितिमा निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा सम्पन्न गर्ने सम्भावना नभएकाले बैंक ग्यारेन्टी, बीमा तथा क्षतिपूर्तिसहित सबै आयोजनाहरुको आवश्यक म्याद थप गर्नुपर्ने र बजेट व्यवस्थापन गर्न व्यवसायीले प्रदेश र संघ सरकारसँग माग गरेका छन् ।
निर्माण व्यवसायी महासंघमार्फत एकसाता अघि गएको बैशाख २२ गते पत्रकार सम्मेलन गरी मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा परेको असर र समस्याको समाधान गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका थिए । निर्माण व्यवसायीको मागका विषयमा सरकारले बेवास्ता गरेको र समस्या समाधानका निम्ति कुनै पहल नगरिएको व्यवसायीको भनाइ रहेको छ ।