फक्ताङलुङका बिद्यार्थीले पाए साढे १९ लाख रुपैयाँ छात्रबृत्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले साधारण धारतर्फका १ सय ३५ जनालाई सत प्रतिशत तथा प्राविधिक धारतर्फका ५ जना बिद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति प्रदान गरेको छ ।

पालिकाका शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालका अनुसार १८ लाख ३३ हजार ४ सय रुपैयाँ र प्राविधिक धारतर्फ १ लाख २८ हजार रुपैयाँ गरी चालु शैक्षिक सत्रमा कुल १९ लाख ६१ हजार ४ सय रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो । साधारण धारतर्फ जनही बढीमा २५ हजार रुपैयाँ देखि कम्तिमा ६ हजार २ सय ५० रुपैयाँसम्म छात्रबृत्ति पाएका छन् । साधारण धारतर्फका बिद्यार्थीले छात्रबृत्तिका लागि फक्ताङलुङ गाउँपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने देखि फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा पढेको हुनुपर्ने व्यवस्था रहेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जिल्लाकै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको प्रर्वद्धनका लागि विगत समय देखि नै पालिकाका बिद्यार्थीको पूर्ण छात्रबृत्तिका लागि पाथीभरा क्याम्पस र फक्ताङलुङ गाउँपालिकाबिच सहकार्य र साझेदारी हुँदै आएको जानकारी दिनुभयो । उता,प्रावधिक धारतर्फ कम्तिमा १३ हजार ५ सय देखि जनही बढीमा ३३ हजार रुपैयाँसम्म छात्रबृत्ति प्रदान भएको छ । प्राविधिक धारतर्फ भने कुल शैक्षिक शुल्कको ५० प्रतिशत रकम मात्र पालिकाले छात्रबृत्ति स्वरुप उपलब्ध गराउने छ ।

Similar Posts