निर्वाचन आयोगद्धारा ताप्लेजुङ जिसस प्रमुख लामा सहित १६ जना जनप्रतिनिधिको पदरिक्त
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा सहित देशभरका १६ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेको छ ।
आयोगले दल त्याग गरी पद रिक्त भएको सूचनामार्फत भनेको छ । तत्कालिन नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित लामालाई निर्वाचित भएको पार्टी त्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण उक्त पद रिक्त भएको निर्वाचन आयोगले भनेको छ । आयोगले लामाको पद रिक्त भएको जानकारी जिल्ला समन्वय समिति ताप्लेजुङलाई समेत गराएको छ ।‘उक्त विवरण सहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएको छ’निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेलले भन्नुभयो । आयोगले राजनीतिक दल सम्वन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २२ बमोजिम विभिन्न जिल्लाका १६ जना जनप्रतिनिधिले दल त्याग गरी पद रिक्त हुन गएको जनाएको छ ।
पद रिक्तको सूचना पछि प्रतिक्रिया दिदैं लामाले आफुले कानुनी परार्मश पछि कसरी अघि बढ्ने भन्ने बिषयको योजना बनाइरहेको बताउनुभयो । तत्कालिन नेकपा(माओवादी केन्द्र) र नेकपा एसको पार्टी एकता हुँदा उहाँ पार्टी एकीकरण पछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा नलागी नेकपा एमाले प्रवेश गरेको भनेर सामाजिक सञ्जालमा फोटो तथा बधाई समेत आएका थिए । लामा जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । उहाँ ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको छ ।