रेडपाण्डा संरक्षणका लागि सन् २०२६ मा ताप्लेजुङमा २ करोड ६४ लाख बढी खर्च गरिँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १८ । दुर्लभ वन्यन्तु रेडपाण्डा संरक्षण अभियान तथा संरक्षण शिक्षाका लागि सन् २०२६ भित्रमा ताप्लेजुङमा अढाई करोड रुपैयाँ बढी खर्च गरिने भएको छ ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चमार्फत रेडपाण्डा संरक्षण अभियान २ करोड ६४ लाख ४३ हजार ७८८ रुपैयाँ खर्च गर्न लागिएको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो सन् २०२५ को एकबर्षे अवधिको बजेट भन्दा बढी हो । रेडपाण्डा संरक्षण अभियान तथा संरक्षण शिक्षाका सन् २०२५ को डिसेम्बरसम्ममा १ करोड ४२ लाख ९२ हजार ९५५ रुपैयाँ खर्च भएको थियो । राईका अनुुसार यो रकम रेडपाण्डाको अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना अभिबृद्धि,दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रर्वद्धन कार्यक्रममा खर्च गरिने छ ।

ताप्लेजुङका ९ स्थानीय तहमध्ये आठराई त्रिबेणी गाउँपालिका बाहेक एक नगरपालिका र ७ गाउँपालिकाका १५ वटा वडाहरुमा रेडपाण्डा संरक्षण अभियान सञ्चालनमा रहेको छ । अहिलेसम्म रेडपाण्डाको वासस्थान तथा अवस्थिति पत्ता नलागेका कारण आठराई त्रिबेणी भने यो कार्यक्रमको कार्यक्षेत्रमा नपरेको हिमाली संरक्षण मञ्चले जनाएको छ । यो कार्यक्रमको कार्यक्षेत्रमा १४ वटा सामुदायिक वन उपभोक्ता समिति र सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेको एक राष्ट्रिय वन क्षेत्रमा कार्यान्वयनमा रहेको छ ।

कार्यक्रममार्फत २४ हजार ३०० घरधुरी लाभान्वित भइरहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । कार्यक्रममार्फत रेडपाण्डाको सम्भावित वासस्थान भएका यहाँका सबै क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको मञ्चले जनाएको छ । कार्यक्रम अन्तरगत रेडपाण्डा अनुगमन ब्लकको पुनः रेखाङ्कन,रेडपाण्डाको नियमित अनुगमन,सामुदायिक वनमा चोरी–सिकारी तथा चोरी–निकासी न्यूनीकरण अनुगमन,कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद, रेडपाण्डा बुलेटिन प्रकाशनसहितका कार्यक्रम सञ्चालन गरिने छ । यसपटक रेडपाण्डाको क्यामरा ट्रयापिङ समेत हुनेगरी उपकरण खरिदका लागि बजेटको प्रवन्ध गरिएको समेत कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो ।

रेडपाण्डाका प्रमुख वासस्थान भएका क्षेत्रका विद्यालयमा रेडपाण्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम सञ्चालन,रेडपाण्डा संरक्षण सचेतना बोर्ड स्थापना, रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम,रेडपाण्डा संरक्षण शिक्षाका लागि पोस्टर र पम्प्लेट छपाइ, रेडपाण्डाको आहार प्रजातिका बिरुवा उत्पादनका लागि नर्सरी निर्माण,वृक्षरोपण,पानीपोखरी निर्माण, कुकुरका लागि रेबिजविरुद्धको भ्याक्सिन र बन्ध्याकरण अभियान समेत सञ्चालन हुने भएका छन् ।

कार्यक्रम कार्यक्षेत्र भएका ८ स्थानीय तहका ८ वटा बिद्यालयमा रेडपाण्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आउने समेत राईले बताउनुभयो । यसअघि मयाम मावि फुरुम्बु,सिद्धकुमारी आधारभूत बिद्यालय तिरिङ्गे,सिँवा मावि लिङखिम,लक्ष्मी मावि मामाङ्खे,महेन्द्र आधारभूत बिद्यालय लिङखिम,कञ्चजंघा मावि याम्फुदिन र सरस्वती च्यारिवुक मावि लेलेपमा रेडपाण्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम लागु भई कार्यान्वयनमा गएका थिए । यसपटक फुङलिङ नगरपालिकास्थित साङ्कदेछ्योलिङ गोन्पा बिद्यालय बुङकुलुङमा समेत उक्त पाठ्यक्रम कार्यान्वयनमा आउने राईले जानकारी दिनुभयो ।

कार्यक्रममार्फत कार्यक्षेत्रभित्रका ११ वटा विद्यालयमा इको क्लव गठन गरी रेडपाण्डा तथा वातावरण संरक्षण शिक्षा सम्वन्धी कार्यक्रम सुरु भएको समेत हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लास्थित सरोकारवालाले डिभिजन वन कार्यालय सहितका निकायका कार्यक्रममा दोहोरोपन नहुने गरी कार्यक्रम सञ्चालन गर्न तथा चोरी शिकारी तथा चोरी निकासी नियन्त्रण सहितका नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी अधिकारीका लागि अनुशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेका छन् । प्रस्तावित कार्यक्रमलाई आगामी कार्ययोजनामा समावेश गरी अघि बढाउने तयारी भएको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो ।

जिल्ला परियोजना सल्लाहकार समितिको बैठकले सन् २०२५ का लागि सञ्चालित कार्यक्रमको समिक्षा तथा सन् २०२६ को प्रस्तावित कार्यक्रमलाई सुझाव सहित कार्यान्वयनमा लैजान कार्यान्वयनकर्ता हिमाली संरक्षण मञ्चलाई सिफारिस गरेको जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतम सहितले सुझाव र आगामी कार्ययोजनाको प्रभावकारिताका थप आयाम बारे बताउनु भएको थियो ।

Similar Posts