छैटौं सावादिन च्यालेञ्ज कप फागुन २६ बाट

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनस्थित बिसिएस मेमोरियल युवा क्लवले छैटौं सावादिन च्यालेञ्ज कप २०८१ सञ्चालन गर्ने भएको छ ।
फागुन २६ गतेबाट हुने च्यालेञ्ज कप अन्तरगत पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ भने दौड प्रतियोगिता समेत सञ्चालन गर्ने प्रतियोगिता संयोजक रुपहाङ लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष फुटबल प्रतियोगिताका बिजेताले १ लाख १ हजार रुपैयाँ तथा उपबिजेताले ६० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट खेलकर्ता र सर्वाधिक गोलकर्तालाई बिधागत पुरस्कार प्रदान गरिने प्रतियोगिता सहसंयोजक विवेक लिम्बूले जानकारी दिनुभयो । यस्तै रविकला मावि सावादिन देखि शहीद पार्क हुँदै सावादिन खेल मैदान सम्म पुग्नेगरीको दौड प्रतियोगिता समेत सञ्चालन हुने भएको छ ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार,द्धितीय हुनेलाई ६ हजार,तृतीय हुनेलाई ३ हजार,चौथो हुनेलाई नगद २ हजार र पाँचौं हुनेलाई नगद १ हजार रुपैयाँ पुरस्कार दिइने छ । छैटौं देखि दशौं स्थान सम्मका दौडमा सहभागीहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।