ताप्लेजुङमा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने जिन ‘एक्सपर्ट’ मेसिन भित्रियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २० । ताप्लेजुङमा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन भित्रिएको छ । अहिले सम्म माइक्रोस्कोपी बिधिद्धारा प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थपोष्टहरुमा क्षयरोगको परीक्षण हुने गरेको थियो ।

माइक्रोस्कोपी बिधिद्धारा गरिने परीक्षण पछि सतप्रतिशत क्षयरोगी बिरामी हो की होइने भनेर यकिन गर्न भने फेरी जिन एक्सपर्ट मेसिनकै प्रयोग हुने गथ्र्यो । जिन एक्सपर्ट मेसिन भित्रिएसंगै सम्भावित रोगीहरुमा क्षयरोग होकी होइन भनेर अन्तिम परीक्षण गर्न ताप्लेजुङ बाहिर जानुपर्ने समस्याको हल भएको जिल्ला अस्पताल ताप्लेजुङका नर्सिङ निरीक्षक बिजया राईले बताउनुभयो । राष्ट्रिय क्षयरोग निवारण केन्द्रका बरिष्ठ मेडिकल टेक्निसियन पद्मनाभ घिमिरेका अनुसार जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि हो । जिन इस्सपर्टको सहायताले ‘माइक्रोबाक्टेरियम ट्युवरक्लोसिस’बाट हुने संक्रमण र उक्त संक्रमणका लागि प्रयोग गरिने सबभन्दा प्रभावकारी औषधी ‘रिफ्यामपिसिन’को प्रभावकारीता छ–छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ । यो पूर्ण रुपमा स्वचालित उपकरण सेफेड नामक अमेरिकी कम्पनीले उत्पादन गरेको हो । यो उपकरणमा चार वटा मोडल रहेका छन् ।

जिन एक्सपर्ट मेसिनमा परीक्षणका लागि आवश्यक पर्ने केमिकल सबै कार्टेज भित्रै राखिएको हुन्छ । यसले किटाणुको डिएनए जाँच गर्ने भएकाले यसलाइ मोलिकुलर टेष्ट वा न्युक्लिक एसिड एमपिलिफिकेशन टेष्ट पनि भनिन्छ । ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजिपी डाक्टर दीपेन्द्र बोखिमका अनुसार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले जिन एक्सपर्ट मेसिनको सञ्चालन पद्धति,यसको अभिलेखीकरण र नतिजा मापन बारे ताप्लेजुङ अस्पतालका स्वास्थ्यकर्मीलाइ अभिमुखीकरण गराएको छ । क्षयरोगको परीक्षण क्षेत्रमा यो मेसिन भित्रनु सकारात्मक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेल पूर्वका हिमाली जिल्लाहरुमा सम्भवतःपहिलो पटक ताप्लेजुङमै यो मेसिन भित्रिएको दावी गर्नुहुन्छ ।

फोटो ः जिन एक्सपर्ट मेसिनको सञ्चालन पद्धति र यसबाट हुने लाभ बारे जानकारी गराउँदै राष्ट्रिय क्षयरोग निवारण केन्द्रका बरिष्ठ मेडिकल टेक्निसियन पद्मनाभ घिमिरे । तस्बिर ः ईउज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts