ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : ३२ स्वर्णको प्रतिश्पर्धा सकिदा मैवाखोलाको फराकिलो अग्रता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २४ । ताप्लेजुङको सिदिङ्वामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३२ स्वर्णको स्पर्धा सकिदा मैवाखोला गाउँपालिकाले फराकिलो अग्रता बनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार शनिवार साँझसम्मा कुल १ सय १६ पदकको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार मैवाखोला गाउँपालिका १७ स्वर्ण,५ रजत र ७ कास्य सहित २९ पदकका साथ पहिलो स्थानमा रहेको छ । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाले समान ४–४ स्वर्ण जित्दा क्रमशः६–६ रजत पदक जितेका छन् । फुङलिङले ११ कास्य पदक जितेर २१ पदक हाँसिल गर्दा सिदिङ्वाले १० कास्य पदक जितेर कुल पदक संख्या २० पुर्‍याएको छ । ३ स्वर्ण पदक जितेको आठराई त्रिबेणी गाउँपालिकाले ९ रजत र १३ कास्य गरी कुल २५ पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । २ स्वर्ण पदक जितेको सिरिजङ्गाले १ कास्य पदक जितेर ३ पदक जम्मा गरेको छ । मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका समान १–१ स्वर्ण पदक जित्दा समान ३–३ रजत पदक जितेका छन् । मिक्वाखोलाले ६ कास्य पदक हाँसिल गरेको छ भने मेरिङदेनले ३ कास्य पदक पाएको छ ।

३२ स्वर्णको खेल सकिदा फक्ताङलुङ गाउँपालिका पदकविहिन छ भने पाथीभरा याङवरक गाउँपालिकाले १ कास्य पदक जितेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावो लिम्बूका अनुसार शनिवार साँझसम्ममा ३२ स्वर्ण,३२ रजत र ५२ कास्य पदकको स्पर्धा सकिएको छ । प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि स्पर्धा हुने छ । १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सिदिङ्वा गाउँपालिकाको केन्द्र रहेको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा सुरु भएको हो ।

प्रतियोगितामा माघ २६ गते सकिने तयारी रहेको प्रतियोगिताको संयोजनकारी निकाय सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजनको जिम्मेवारी पाथीभरा याङवरक गाउँपालिकाले लिने घोषणा उद्घाटन समारोहमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले गर्नु भएको छ ।

Similar Posts