ताप्लेजुङमा झण्डै साढे १३ सय किशोरीलाई एचपीभी खोप दिईने,अघिल्लो बर्ष छुटेकालाई समेत खोपमा समावेश गरिदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २४ । ताप्लेजुङमा करिव साढे १३ सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस(एचपीभी)खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायका अनुसार यही माघ २८ गतेदेखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने छ । खोप अभियानमा १ हजार ३ सय ४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको खोप अधिकृत रायले जानकारी दिनुभयो । अघिल्लो बर्षको अभियानमा कम मात्रै किशोरी खोप लगाउन छुटेका रायले बताउनुभयो ।‘अघिल्लो बर्ष अहिलेसम्म दुईजना छुटेको देखिएको छ,छुटेका अरु भेटिए लक्षित उमेर समूहलाई हामी खोप अभियानमा समावेश गर्ने छौं’रायले भन्नुभयो । १० देखि १४ बर्ष उमेर समूहका बिद्यालयमा अध्ययरत किशोरी र बिद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने स्वास्थ्य कार्यालयले बताएको छ ।
एचपीभी खोप अभियानका लागि ताप्लेजुङमा २ सय ७ वटा खोप केन्द्र निर्धारण भएका छन् । अधिकाँस खोप केन्द्र बिद्यालयमा रहने देखिएको छ । खोप अभियानका क्रममा २ सय ३ जना स्वास्थ्यकर्मी तथा २ सय ७ जना स्वयंसेविका खटिने भएका छन् । खोपको अनुगमन तथा सुपरीबेक्षणका क्रममा ७६ जना जनशक्ति परिचालित हुने खोप अधिकृत रायले जानकारी दिनुभयो । खोप अभियानका बारेमा जानकारी दिन स्वास्थ्य कार्यालयले आइतवार जिल्ला स्तरीय कार्यशालाको आयोजना गरेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । खोप अभियान सफल बनाउन सरोकारवालाको सहयोग तथा खोपको तयारी बारे जानकारी दिन उक्त कार्यशालाको आयोजना गरिएको स्वास्थ्य कार्यालयले बताएको छ ।