दर्ता तथा नविकरण सहितका बैधानिक प्रकृया पूरा नगरेका व्यवसायीलाई प्रकृया पूरा गर्न सातदिनको समयसीमा

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ६ । व्यवसायको प्रकृति अनुसार दर्ता नभएका पसल सञ्चालकलाई सातदिन भित्र दर्ता प्रकृयाका कागजात सहित उपस्थित हुन जिल्ला अनुगमन समिति ताप्लेजुङले समयावधी दिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङको अगुवाईमा आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका पसल अनुगमन गरिएको थियो । कोष नियन्त्रक यामनाथ गिरीका अनुसार कतिपय व्यवसायीहरु दर्ता प्रकृयामा नआएकोले पाइएकोले व्यवसायको प्रकृति अनुसार दर्ता प्रकृयाका लागि सम्वन्धित निकायमा सातदिन भित्र उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।‘प्रदान भएको समयसीमा भित्र सम्वन्धित निकायमा दर्ता प्रकृया सुरुआत नगर्ने व्यवसायीका लागि आवश्यक थप कानुनी प्रकृया सुरु गर्ने छौं’सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले भन्नुभयो । मदिराजन्य सामग्री बिक्री गर्ने पसलहरुले अन्तःशुल्कका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा गई दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । यहाँ अन्तःशुल्क सम्वन्धी सेवा कोलेनिकाबाट प्रदान हुन्छ । फुङलिङ नगरपालिकामा समेत अनिवार्य व्यवसाय दर्ता गर्नुपर्ने नगरपालिकाको नियम रहेको छ ।

व्यवसायको प्रकृतिका आधारमा कम्पनी रजिष्ट्ररको कार्यालय,कोलेनिका,घरेलु तथा साना उद्योग कार्यालय र ताप्लेजुङ उद्योग वाणिज्य संघमा समेत दर्ता तथा नविकरण गर्नुपर्ने हुन्छ । संघमा आवद्ध नभएकाहरुलाई समेत आबद्धताको लागि आफुहरुले व्यवसायीलाई आग्रह गरेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले बताउनुभयो । अनुगमन टोलीले व्यवसायको प्रकृति अनुसार दर्ता तथा नविकरणमा सामेल हुन,करको दाहेरामा आउन,मूल्य सूची अनिवार्य राखी त्यसको नियमित अद्यावधिक गर्न,म्याद गुज्रिएका तथा अखाद्य बस्तुको बिक्री बितरण नगर्न र उत्पादन मिति र उपभोग्य मिति नलेखिएका(बिना लेवलका)सामग्रीको बिक्री बितरण नगर्न व्यवसायीलाई सचेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बैधानिक प्रकृया(दर्ता,नविकरण र करचुक्ता सहित)पूरा नगर्ने व्यवसायीका हकमा अनुगमन समिति निर्मम ढंगले प्रस्तुत हुने संकेत गर्नु भएको छ । बैधानिक प्रकृया पूरा गरेका नगरेका व्यवसायीको फोन नम्बर सहितको सूची समेत संकलन गर्दै अनुगमन टोलीले दिएको समयसीमा भित्र बैधानिक प्रकृया पूरा नगरेमा अनुगमन टोलीले आवश्यक थप प्रकृया अघि बढाउने सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।
व्यवसाय दर्ता भए नभएको अनुगमनका क्रममा कागजात हेर्दै अनुगमन टोली ।

Similar Posts