आठराई त्रिबेणीले लाभग्राहीलाई भन्यो‘पालिकाबाट जस्तापाता लगी तिहार अघि नै फुसको छानो बिस्थापन गर्नू’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले तिहार अघि नै जस्तापाता लगी फुसको छानो बिस्थापन गर्न सम्वन्धित लाभग्राहीलाई आग्रह गरेको छ ।
पालिकामा यसअघि नै जस्तापाता आइसकेको र पालिकाले सम्वन्धित वडामा पठाउने तयारी गरिरहेको बताउँदै पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले तिहार अघि नै जस्तापाता लगी फुसको छानो बिस्थापन गर्न लाभग्राहीहरुलाई आग्रह गर्नु भएको छ । पालिकाले आउँदो मंसिर १५ सम्ममा पालिकालाई पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्नेगरी तयारी अघि बढाएकोले यसकार्यमा सहजीकरण गरिदिन पालिका अध्यक्ष पोमूले सम्वन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । पालिका अध्यक्ष पोमूले यसअघि नै दशैं लगत्तै फुुसको छानो भएको भनी पहिचान भएका लाभग्राहीलाई जस्तापाता लगी फुुसको छानो हटाउने गरीको तयारी थाल्न आग्रह गर्नु भएको थियो ।
पोमूका अनुसार वडा नं ४ चाँगे(माथिल्लो) र वडा नं ५ चाँगे(तल्लो)क्षेत्रका घरधुरीहरुमा काम सम्पन्न भइसकेका छन् । उक्त दुईवटा वडामा फुसको छानो बिस्थापन हुन बाँकी रहेको भनी सम्वन्धित वडाबाट प्रकृयागत रुपमा आबेदन आएका बाहेक यसअघि नै ति वडामा फुुुसको छानो बिस्थापन भइसकेको पालिका अध्यक्ष पोमूले जानकारी दिनु भएको छ । पालिकाका ३ वडामा मात्र फुसको छानो बिस्थापन गर्ने कार्य बाँकी रहेको पालिका अध्यक्ष पोमूले जानकारी दिनु भएको छ । पोमूका अनुसार वडा नं १ निघुरादिनमा १६ घर,वडा नं २ फुलवारीमा ५१ घर र वडा नं ३ हाङपाङमा २७ घरधुरीमा फुसको छानो बिस्थापन गरी जस्तापाता लगाउने कार्य बाँकी रहेको छ । पालिकाले फुसको छानो बिस्थापन गर्ने कार्यलाई बिशेष प्राथमिकतामा राखी उचित बजेटको प्रवन्ध समेत गर्दै आएको थियो ।