ताप्लेजुङमा माघ २८ बाट एचपीभी खोप सञ्चालन हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २५ । ताप्लेजुङमा माघ २८ गतेबाट पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस(एचपीभी)खोप दिइने भएको छ ।

माघ २८,२९ र फागुन १ गते गरी तीनदिन खोप अभियान सञ्चालन गरिने आइतवार स्वास्थ्य कार्यालय ताप्लेजुङले अन्तरकृया कार्यक्रममार्फत जानकारी गराएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीका अनुसार करिव साढे १३ सय किशोरीहरूलाई एचपिभी खोप दिईने छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायका अनुसार १ हजार ३ सय ४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य छ । अघिल्लो बर्षको अभियानमा कम मात्रै किशोरी खोप लगाउन छुटेका रायले बताउनुभयो ।‘अघिल्लो बर्ष अहिलेसम्म दुईजना छुटेको देखिएको छ,छुटेका अरु भेटिए लक्षित उमेर समूहलाई हामी खोप अभियानमा समावेश गर्ने छौं’रायले भन्नुभयो । १० देखि १४ बर्ष उमेर समूहका बिद्यालयमा अध्ययरत किशोरी र बिद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने स्वास्थ्य कार्यालयले बताएको छ ।

एचपीभी खोप अभियानका लागि ताप्लेजुङमा २ सय ७ वटा खोप केन्द्र निर्धारण भएका छन् । अधिकाँस खोप केन्द्र बिद्यालयमा रहने भएका छन् । खोप अभियानका क्रममा २ सय ३ जना स्वास्थ्यकर्मी तथा २ सय ७ जना स्वयंसेविका खटिने भएका छन् । खोपको अनुगमन तथा सुपरीबेक्षणका क्रममा ७६ जना जनशक्ति परिचालित हुने स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरु,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले खोप अभियान सफल बनाउन सरोकारवावाल सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Similar Posts