|

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता सूचीबाट हटायो १४३० मृतक र १७४ को दोहोरो मतदाता नामावली

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ८ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले १ हजार ४ सय ३० जना मृतक मतदाताको नामावली मतदाता सूचीबाट हटाएको छ । यसमध्ये १ हजार २ सय २३ जनाको अहिले हटाईएको हो भने २०७९ सालको निर्वाचन पछि २ सय ७ जनाको नामावली हटाईएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १ सय ७४ जनाको दोहोरो नामावली समेत मतदाता सूचीबाट हटाईएको छ । एकै व्यक्तिको दुईवटा मतदाता नामावली मतदाता सूचीबाट हटाईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २७ जना मतदाताले मतदाता नामावलीमा रहेको विवरणको त्रुटी सच्याएका छन् । अन्तर जिल्ला मतदाता नामावली सम्वन्धी बिषयको अद्यावधिक कार्य निर्वाचन आयोग आफैंले गर्ने भएकोले त्यसपछि मात्र मतदाता नामावलीको एकिन तथ्याङ्क आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृतक मतदाता नामावली हटाउने,त्रुटी सच्याउने,दोहोरो नामावली हटाउने सहितका अद्यावधिक कार्य अघि प्रारम्भिक मतदाता नामावली नामावली प्रकाशित हुँदा ताप्लेजुङको कुल मतदाता ९१ हजार ८ सय ४० रहेको थियो ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन लक्षित मतदाता नामावलीका क्रममा १ हजार २ सय २३ जना मृतकहरुको र १ सय ७४ जनाको दोहोरो नामावली मतदाता नामावली सूचीबाट हटाउँदा ताप्लेजुङको अनुमानित मतदाता संख्या ९० हजार ४ सय ४३ हुन आउँछ । अन्तर जिल्ला सरुवाका लागि आबेदन दिएकाहरुको निर्णय आयोगले आफैं घटाउने तथा थप अद्यावधिक गर्ने भएकोले ताप्लेजुङको अनुमानित मतदाता संख्या ९० हजार ४ सय ४३ भन्दा कम हुने सम्भावना देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यहाँ ८८ हजार २ सय ८५ मतदाता कायम भएका थिए ।

 

Similar Posts