प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ७ । मानाभारा युथ स्पोर्टिङ क्लवको आयोजनामा पुस १५ देखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा हुने प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक मानाभारा युथ स्पोर्टिङ क्लवले सोमवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरेको हो । क्लवका संरक्षक समेत रहनु भएका फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश),क्लवका अध्यक्ष तुलसी दाहालको उपस्थितिमा क्लवका सचिव मौसम अन्छङवोले खेल तालिका सार्वजनिक गर्नु भएको हो । सार्वजनिक गरिएको तालिका अनुसार पुस १५ दिन उद्घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लव बिरुद्ध चाँगे माछापोखरी हिटी फुटबल क्लव मैदानमा उत्रने छ । पुस १६ गते हुने दोस्रो खेलमा सिँवा स्पोर्टिङ क्लवको भिडन्त लालीगुराँस फुटबल क्लव सुरुम्खिमसंग हुने छ भने सोहि दिन हुने तेस्रो खेलमा आमन्त्रित लुखीभूजी युथ क्लव रामेछाप बिरुद्ध जनआर्दश स्पोर्टिङ क्लव ढुङगेसाँघु मैदानमा उत्रने छ । पहिलो चरणको अन्तिम खेलमा पुस १७ गते नवप्रयास युनाईटेड क्लव हाङदेवा र प्रगतिशिल युथ क्लव लिङतेप आमनेसामने हुनेछन् । पुस १८ गते पहिलो र दोस्रो सेमीफाइनल खेल हुनेछन् भने १९ गते फाइनल खेल हुने आयोजक मानाभारा युथ स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख २ हजार ८२ रुपैयाँ तथा द्धितीय हुनेले १ लाख ५२ हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याच हुनेले नगद २ हजार ५ सय रुपैयाँ पाउँदा सर्बोकृष्ट हुने खेलाडीले ८ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने आयोजक क्लवका कोषाध्यक्ष अदित्य लिम्बूले जानकारी दिनुभयो । यस्तै बिधागततर्फ उत्कृष्ट हुने प्रत्येक खेलाडीले जनही नगद ५ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने भएका छन् । मानाभारा युथ स्पोर्टिङ क्लवका संरक्षक तथा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष साम्राका अनुसार खेजेनिमस्थित आहालेटार खेल मैदानमा हुने उक्त गोल्डकप खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनको विशिष्ट उद्देश्य राखेर आयोजना गरिएको हो । नगदेवाली अलैंची सहित बिभिन्न कृषि बाली,धार्मिक तथा साँस्कृतिक पर्यटकीय केन्द्रहरु भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको भन्दै आयोजकले पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि खेलकुदलाई माध्यम बनाईएको बताएको छ ।
कार्यक्रमका लागि कुल २० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । फक्ताङलुङ गाउँ कार्यपालिकाको कार्यालय,वडा नं २ खेजेनिम सहितका पालिकाका वडाहरु,स्थानीय जलविद्युत आयोजना सहितका सहयोगी निकायहरु र सहयोगी दाताहरुबाट कार्यक्रमको आय संकलन गर्ने आयोजकको योजना रहेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावो लिम्बूले खेलकुद र पर्यटनलाई जोडेर दुबै क्षेत्रको प्रवद्र्धन र उन्नयन सम्भव हुने भएकोले आयोजक संस्थालाई उद्देश्य अनुसारको प्रतिफल हाँसिल गर्न योगदान मिलोस् भन्ने शुभेच्छा अर्पण गर्नु भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,खेजेनिमका खेलकुद संयोजक गणेश पौडेल,आयोजक टिमका टिम क्याप्टेन मणिराज अन्छङ्वो सहितको उपस्थिति रहेको थियो ।